उपल्लो डोल्पामा चुनावका लागि खटिएका १३५ कर्मचारी अलपत्र

सुर्खेत , ७ मंसिर ःउपल्लो डोल्पामा मंसिर ४ गते चुनावमा खटिएका कर्मचारीहरु समस्यामा परेका छन् । १२ केन्द्रमा खटिएका कर्मचारीहरुलाइ मतदान केन्द्रमै छाडेर मतपेटिका मात्र हेलिकोप्टरमा सदरमुकाम ल्याइएपछि कर्मचारीलाई समस्य भएको हो ।
केन्द्रका खटिएका सहायक मतदान अधिकृत , म्यादी प्रहरी , सुरक्षाकर्मी सबै उपल्लो डोल्पामा रहेका छन् । कर्मचारीलाई चिसोका कारण स्वास्थ्यमा समस्या देखिएको छ ।
शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मध्ये १२ मतदान केन्द्रका १३५ कर्मचारी अलपत्र परेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताउनुभयो । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले निर्वाचन सकिए पनि उपल्लो डोल्पामै रहेका कर्मचारीलाई हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याउनका लागि निर्वाचन आयोगसँग अनुरोध गरेर चिठी पठाएको बताउनुभयो । बुधबार बिहान मात्र उपल्लो डोल्पाबाट मतपेटिका र १० कर्मचारीलाई हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याइएको थियो। यसअघि कर्मचारी हेलिकोप्टरमार्फत् नै उपल्लो डोल्पा पुगेका थिए।
शे–फोक्सुण्डो गाउँपालिका–१ को वासस्थित सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको उहाँले बताउनुभयो । उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहराले बताउनुभयो । उपल्लो डोल्पामा हिमपातसँगै चिसो बढ्दै गएको छ।
स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी तथा अन्य सुरक्षाकर्मीलाई खाद्यान्न उपलब्ध गराउन नसक्ने चेतावनी दिएका छन् । उत्ता मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपल्लो डोल्पामा रहेका कर्मचारीलाइ सदरमुकाममा ल्याउने विषयमा आयोगलाइ जानकारी गराएको बताएको छ ।





error: Content is protected !!