डोल्पामा धेरैलाई थाहा छैन मतदान गर्ने तरिका

डोल्पा ः हिमाली जिल्ला डोल्पाका नागरिकले मतदाता शिक्षा नपाएको गुनासो गरेका छन् । निर्वाचन आउन १० दिन मात्र बाँकी रहँदा मतदाता शिक्षा दिन गाउँघरमा कोही पनि नआएको उनीहरूको गुनासो छ । जिल्ला निर्वाचन कार्यालय डोल्पाले गत १७ गतेदेखि नै सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतदाता शिक्षाका लागि समन्वय गरेको बताए पनि गाउँघरमा भने कोही पुगेका छैनन् ।

निर्वाचन आयोगले चुनावको मुखैमा मात्र मतदाता शिक्षा कार्यक्रम लागू गर्दा जनता मतदाता शिक्षाबाट वञ्चित हुनुपरेको त्रिपुरासुन्दरी नगरपालिका( १ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए । उनले भने, ‘गाउँघरमा अधिकांशलाई मत हाल्ने तरिका थाहा छैन, स्वास्थ्य स्वयंसेविकाहरू मतदाता शिक्षा दिन आउने कुरा थियो, तर अहिलेसम्म कोही पनि आएका छैनन् ।’ निर्वाचन हुनुपूर्व मतदान गर्न नसिकी सीधै मतदान गर्न जाँदा मत बदर हुने सम्भावना धेरै हुने गरेको उनको भनाइ छ ।

उपल्लो डोल्पामा कहिल्यै पुग्दैन मतदाता शिक्षा
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा भने विगतदेखिका कुनै पनि निर्वाचनमा मतदाता शिक्षा पुग्ने नगरेको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकामा मतदाता शिक्षासम्बन्धी कुनै पनि कार्यक्रम नपुगेको उनीहरूको भनाइ छ ।

उपल्लो डोल्पाका अधिकांश नागरिक अशिक्षित छन् । शिक्षाको अवसरबाट वञ्चित रहेका उपल्लो डोल्पामा धेरैजसो मतदातालाई मत हाल्ने तरिका नै थाहा नभएको छार्काताङसोङ गाउँपालिका– १ का अध्यक्ष धावा लावाङले बताए । उनले भने, ‘कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी नभएकै कारण उपल्लो डोल्पामा मत बदर हुने गरेको छ, गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि मतदाता शिक्षा दिन कोही पनि आएनन् ।’ यसपटक पनि मतदाता शिक्षा दिन निर्वाचन कार्यालयले खटाएका कोही कर्मचारी यहाँ नआएको उनले बताए ।

मतदाता शिक्षा प्रभावकारी भएन – निर्वाचन अधिकृत
मतदाता शिक्षाको उद्देश्य भनेको कमभन्दा कम मत बदर होस् भन्ने रहेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्नेबित्तिकै मतदाता शिक्षा लागू गर्नुपर्ने उनको भनाइ छ ।

उनले डोल्पाको उत्तरी क्षेत्रमा एउटै गाउँबाट अर्को गाउँमा जाँदा तीन–चार दिन लाग्ने गरेकाले पनि आयोगले अन्य समयमा पनि मतदाता शिक्षा लागू गर्नुपर्ने उनको भनाइ छ । मतदाता शिक्षा प्रभावकारी नभएकै कारण यहाँ प्रत्येक निर्वाचनमा धेरै मत बदर हुने गरेको उनले जानकारी दिए ।

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्येक निर्वाचनमा मतदाताले आफ्नो मत आफैँ हाल्न नपाउने र सामान्य व्यक्तिले समेत ‘वारेस मत’ हाल्न लगाउने गरेको सरोकारवालाको भनाइ छ ।





error: Content is protected !!