कर्णालीमा भौगोलिक विकटताले सुरक्षा चुनौती

सुर्खेत ः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भौगोलिक विकटता नै मुख्य चुनौती भएको प्रदेश सुरक्षा गोष्ठीमा औंल्याइएको छ । जसका लागि आकस्मिक अवतरण गर्न नेपाली सेनाको एउटा हेलिकप्टर तयारी अवस्थामा राख्ने सरकारले तयारी गरेको छ ।

प्रदेश सुरक्षा गोष्ठीमा चुनाव बिथोल्ने समूहको सक्रियता, आचारसंहिता कार्यान्वयनमा समस्या र उम्मेदवारको जसरी पनि जित्ने होडलाई चुनौतीका रूपमा लिइएको गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय र आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलले बताए । उनले निर्वाचनमा कर्णालीमा पूर्वाधारको अभाव नहुने बताए । ‘भौगोलिक विकटताका कारण पनि कालीकोट, मुगु र हुम्लामा केही बढी चुनौती देखिएको छ,’ उनले भने, ‘निर्वाचनमा अत्यावश्यक वस्तुको सहज आपूर्ति र सेवा प्रवाहको व्यवस्थापन गर्ने गरी सरकारले तयारी थालेको छ ।

गृह मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको गोष्ठीमा कर्णालीका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको शान्ति सुरक्षालगायत समग्र अवस्थाबारे जानकारी गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले बताए ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवैध तथा जबर्जस्ती चन्दा संकलन र धम्की रोक्न पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले अराजक तथा उच्छृंखल एवं आपराधिक क्रियाकलाप रोक्न मौजुदा प्रहरी जनशक्ति नै पर्याप्त भएको बताए । कर्णाली प्रदेशका कानुनमन्त्री हिमबहादुर शाहीले कर्णाली आफैंमा विकट भएकाले पूर्वाधारको कमी नहुने गरी स्रोत साधनको परिचालन गर्नुपर्ने बताए ।

विगतका निर्वाचनभन्दा यस पटकको निर्वाचनमा आचारसंहिता पालनामा सुधार भएको गृहसचिव विनोदप्रकाश सिंहले बताए । ‘अघिल्ला निर्वाचनहरूभन्दा राजनीतिक दल र उम्मेदवारहरूलाई जिम्मेवार हुन, फजुल खर्च घटाउन र शान्ति सुरक्षामा सहयोग पुग्न विशेष खालको आचारसंहिता निर्वाचन आयोगले लागू गरेको छ,’ उनले भने ।





error: Content is protected !!