कांग्रेस सल्यानमा दुई गुट, छुट्टाछुट्टै उम्मेदवार सिफारिस

सल्यान ः मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस सल्यान दुई गुटले छुट्टाछुट्टै नाम सिफारिस गरेका छन् । आकांक्षी धेरै भएका र एकले गरेको सिफारिस अर्का गुटलाई चित्त नबुझेपछि आइतबारको जिल्ला कमिटीको छुट्टाछुट्टै बैठकले नाम सिफारिस गरेका हुन् ।
प्रदेश र संघ निर्वाचनका लागि नाम सिफारिस गर्ने क्रममा सभापति केशबहादुर विष्ट, उपाध्यक्षलगायतको एक टिम र उपाध्यक्ष चक्र देवकोटाको अर्को टिम रहेको छ । विधानअनुसार प्रदेशले देवकोटाको टिमलाई उम्मेदवार छनौट गर्ने जिम्मेवारी दिएको थियो । उपाध्यक्ष देवकोटाको टिमबाट संघीय सांसदका लागि प्रत्यक्षतर्फ राजेन्द्रबहादुर शाह, ध्रुवराज पुरी, दिलमान चन्द, समानुपातिकमा डिल्लीराज रेग्मी, गणेश चन्दलगायत २४ को नाम सिफारिस भएको छ ।
यस्तै प्रदेश क मा प्रत्यक्षतर्फ यकराज बुढाथोकी, एकराज डाँगी, नेत्रलाल ओली, सुरेश चन्द तथा समानुपातिकमा आइतुराम ओली, गोरख केसीलगायत १३ जनाको नाम सिफारिस गरिएको छ ।
प्रदेश ख का लागि प्रत्यक्षमा सुरेश अधिकारी, मानबहादुर डाँगी, चक्र देवकोटा र समानुपातिकमा नेत्रलाल पौडेल, पदमा शाह र सीता गिरी मल्लको नाम सिफारिस गरेको छ ।
सभापति विष्ट र उपाध्यक्ष सन्तोष केसीको टिमबाट संघीय सांसद उम्मेदवारमा केशबहादुर विष्ट, प्रदेश ख मा सन्तोष केसीको एकल नाम सिफारिस गरेको छ । संघीय सांसदको समानुपातिकमा महेश मल्ल, ध्रुव मल्ल्लगायत ८ जनाको नाम सिफारिस गरिएको छ ।
प्रदेश क मा प्रत्यक्षतर्फ गोरखबहादुर खत्री, सुरेश चन्द, डिल्ली बुढाथोकीको नाम सिफारिस भएको छ भने समानुपातिकमा प्रेमबहादुर डाँगीलगायत ९ जनाको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेश ख को समानुपातिकमा शंकर श्रेष्ठ, वीरबहादुर सेजवाल, महेन्द्रकुमार श्रेष्ठलगायत ९ जनाको नाम सिफारिस भएको छ ।
विधानअनुसार प्रदेशले नाम सिफारिस गर्ने जिम्मेवारी आफूहरुलाई दिएकाले सभापति केशवहादुर विष्टलगायतको आइतबार बसेको बैठकले गरेको सिफारिस अवैधानिक रहेको उपाध्यक्ष चक्र देवकोटाले बताए । ‘प्रदेशले निर्देशन गरेको कुरालाई सभापतिले अस्वीकार गर्न मिल्दैन र जिम्मेवारी पाएको टिमले गरेको निर्णयलाई काट्न मिल्दैन,’ उनले भने, ‘सभापतिले मनपरी गर्नुभयो । यो निर्णय वैधानिक छैन ।’
अर्का नेता एकराज भण्डारीले पार्टीको जिल्ला कमिटीले उम्मेदवार सिफारिसमा गरेको निर्णय विधानविपरीत भएकाले कुनै हालतमा पनि मान्य नहुने बताए । उम्मेदवार छनौटमा विवाद देखिएपछि अहिले जिल्ला तहका सबै नेता सुर्खेत गएका उनले जानकारी दिए ।‘उम्मेदवार सिफारिसका लागि पार्टीको लगातार दुई दिन बैठक बसेको थियो । दुई गुट देखिएपछि अहिले जिल्ला तहका सबै नेता सुर्खेत गएका छन् । जिल्लाले मिलाउन नसके प्रदेशले मिलाउँछ । प्रदेशले नसके केन्द्रले मिलाउँछ,’ उनले भने । क्षेत्रभन्दा माथिल्नो निकाय जिल्ला कमिटी भएकाले जिल्ला कमिटीको बैठकले नै संघ र प्रदेश निर्वाचनका लागि नाम सिफारिस गरेको सभापति केशबहादुर विष्टले बताए । ‘क्षेत्रले गरेको निर्णयलाई हुबहु जिल्ला कमिटीको बैठकले पास गर्नुपर्छ भन्ने हुँदैन । जिल्ला कमिटीको बैठकले हेरफेर गर्न सक्छ र अधिकार पनि छ,’ उनले भने, ‘आफ्नो नाम सिफारिसमा नपरेका कारण केहीले विरोध गरेका हुन सक्छन् र अवैधानिक भएको आरोप लगाउन सक्छन् । जिल्ला कमिटीले गरेको निर्णय कसरी अवैधानिक हुन सक्दैन ।’
जिल्ला कमिटीको बैठकले गरेको निर्णयमा सहमति नभए प्रदेशले गर्ने र त्यहाँबाट पनि उम्मेदवार चयनमा समस्या देखिएमा संघले गर्ने उनले बताए ।










