मुडकेचुलामा तेल उत्पादन सुरु

जाजरकोट / आयतित तेल प्रयोग गर्दै आएका मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयबासीहरु अहिले आफैँ उत्पादनमा लागेपछि आर्थिक लाभ लिन थालेका छन् ।
गाउँपालिकाले दुइ वर्ष अघि कृषकहरुलाइ तोरी र सुर्यमुखी खेतीका लागि प्रत्येक वडामा दुइ लाखका दरले अनुदान दिएपछि यहाँका कृषकहरुले व्यवसायिक खेती गरेका थिए । बाहिर जिल्लाबाट बीउ ल्याएर सुरु गरिएको खेती अहिले बीउ बाहिर विक्री गर्ने अवस्थामा पुगेको कृषी विकास शाखाका प्रमुख श्रवणकुमार बुढाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत यहाँका सबै वडाहरुमा तेलहन बालीको रुपमा विकास गर्नका लागि पकेट क्षेत्र घोषण समेत गरेको छ । सुरुमा बाहिरबाट आयात गरिएको तेल प्रयोग गर्ने यहाँका स्थानीयबासीहरु अहिले बाहिर निर्यात गर्ने अवस्थामा पुगेको स्थानीयबासी मुललाल बुढाले बताउनुभयो ।
अब हामीले उत्पादन गरेको तेल बाहिर पठाउने अवस्थामा पुगको छौँ ,उहाँले भन्नुभयो । स्थानीय मिलमा प्रशोधन गरेर उक्त तेल उत्पादन हुने गरेको छ । प्रति घर ४० लिटर भन्दा बढी तेल उत्पादन भएको उहाँको भनाइ छ ।
गाउँमा अहिले ३६ हजार लिटर भन्दा बढी तेल उत्पादन भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । स्थानीय चिया उत्पादन गर्नका लागि यो वर्ष देखि काम हुन लागेको पालिकाले जनाएको छ ।










