सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

वीरेन्द्रनगर ः सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ। सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन।

वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोल पम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको थियो। यहाँका पम्पमा आज बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा चालकको बाक्लो भीड लागेको छ।

प्रहरीले इन्डियन आयल कर्पोरेसनद्वारा नयाँ ‘एक्जिम कोड’ लागू गर्दै इन्धन बोकेका ट्याङ्करलाई नेपाल–भारत सीमा रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो।

भारत सरकारले प्रयोगमा ल्याएको नयाँ भन्सार सफ्टवेयरमा ‘एक्जिट कोड’ र ‘इम्पोर्ट एक्सपोर्ट कोड’ अनुसार बैंक खातामा प्रविष्ट गर्नुपर्ने कारण भारतबाट निर्यात हुने मुलुकमा पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएको हो।

सोमबार साँझ ९ बजे म्यानुअल प्रणालीबाट रुपैडिया भन्सारमार्फत ५० हजार लिटर पेट्रोल, एक लाख २० हजार लिटर डिजेल र ८० हजार लिटर हवाई इन्धन आयात भएको थियो।





error: Content is protected !!