पैसा बाँडेको भन्दै कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

जाजरकोट , २९ वैशाख ः मौन अवधिमा पैसा बाँडेको आरोप लगाउदै रुकुम पश्चिम चौरजहारी नगरपालिका–१० मा बुधबार राति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप छ ।
झडपमा परी माओवादीको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढा लगायत ५ जना घाइते भएका छन् । कांग्रेसका उम्मेदवार गणेशमान डाँगी र माओवादी केन्द्रको तर्फका उम्मेदवार विरेन्द्र रोकायले पुनः झगडा नगर्ने सर्तमा आज विहान छाडिएको छ । कांग्रेसले माओवादीहरु पैसा बाँड्दै हिडेकाले त्यो रोक्न प्रयास गरेपछि झडप भएको बताएको छ । यत्ता माओवादीले भने अन्य वडाबाटसमेत मान्छे बोलाएर आफ्ना उम्मेदवार कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाएको छ ।
घाइतेको नगर अस्पताल चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । घाइते वडा सदस्यका उम्मेदवार बुढाले आफूहरुमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेको र वडाअध्यक्षका उम्मेदवार विरेन्द्र रोकाय र सौगात रोकायलाई केही समय बन्धक बनाएको प्रहरीलाइ बताएका छन् । केही दिन अघि पनि चौरजहारीमा जनसभामा झडप भएको थियो । त्यहाँ माओवादीको कुटाइबाट कांंग्रेस कार्यक्रता घाइते भएका थिए ।






