६ महानगर र ९ उपमहानगरको बाँडफाँड- सिट बाँडफाँडका आधार

०७४ को स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीमा कायम जनप्रतिनिधिलाई सोहीअनुसार मान्यता
०७४ को निर्वाचनमा गठबन्धन दलका उम्मेदवारले प्राप्त गरेको मतभार
०७४ को निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरूले प्रमुख पदमा प्राप्त मत
एकीकृत समाजवादी एमाले विभाजित बनेर बनेको मुख्य शक्ति रहेको यथार्थता मनन
वर्तमान समयमा गठबन्धनका दलको संगठनात्मक अवस्था र जनसमर्थन
पाँचदलीय सत्तागठबन्धनले ६ महानगर र ९ उपमहानगरका मेयर–उपमेयरको सिट बाँडफाँड टुंग्याएको छ । जसपाले नेपालगन्ज उपमहानगरमा दाबी नछाडेपछि जनकपुरको पनि सहमति हुन सकेन । नेताहरूले दिउँसो बनाएको सहमतिको लिखित मस्यौदामा हस्ताक्षर हुन सकेन । मंगलबार राति पौने २ बजेसम्म सहमतिको प्रयास गरेका शीर्ष नेताहरू बुधबार पुनस् बस्ने गरी बालुवाटारबाट बाहिरिए ।

दिउँसो बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा मेयर–उपमेयरको सिट बाँडफाँडको मस्यौदा तयार पारेको थियो । तर, जनकपुर उपमहानगर पाउने टुंगो लागिसकेको जसपाले राति १० बजेपछिको बैठकमा नेपालगन्जमा पनि दाबी गरेपछि सहमतिमा हस्ताक्षर हुन सकेन । जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव काठमाडौंबाहिर रहेकाले मंगलबार दिउँसोको बैठकमा सहभागी थिएनन् ।

माओवादी नेता देव गुरुङले बुधबार बिहान बसेर बाँडफाँड टुंग्याइने बताए । ‘सबै मिलेको छैन, बुधबार फेरि बैठक बसेर टुंग्याउँछौँ,’ उनले भने । नेताहरूकाअनुृसार ६ महानगरपालिकामा कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक–एक मेयर पाउने गरी सहमति बनिसकेको छ । उपमेयरमा पनि कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक–एक लिने गरी सहमति बनेको एक नेताले बताए ।

सहमतिअनुसार कांग्रेसले विराटनगर, ललितपुर र काठमाडौंमा मेयर तथा वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पाउने छ । माओवादीले भरतपुरमा मेयर तथा ललितपुरमा उपमेयर लिने छ । एकीकृत समाजवादीले पोखरामा मेयर र काठमाडौंमा उपमेयर लिने सहमति छ । जसपालाई वीरगन्जमा मेयर र विराटनगरमा उपमेयर परेको छ ।

मंगलबार दिउँसोसम्मको प्रगतिअनुसार ११ उपमहानगरपालिकामा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक–एक मेयर लिने गरी सहमति भएको थियो । जसअनुसार कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढीमा मेयर पाउने तय भएको थियो । त्यस्तै, माओवादीले जितपुर–सिमरा र घोराही, एकीकृत समाजवादीले हेटौँडा र जसपाले जनकपुर पाउने थियो । तर, रातिको शीर्ष नेताहरूको बैठकमा जसपाले नेपालगन्ज पनि आफूले पाउनुपर्ने अडान राख्यो । जुन यसअघि कांग्रेसले राख्ने लगभग सहमति बनेको थियो ।

जसपाले नेपालगन्ज दाबी गरेपछि कांग्रेसले पनि जनकपुरमा दाबी गर्‍यो । नेताहरूले पौने दुई बजेसम्म सहमति जुटाउने कोसिस गरे । तर, त्यसैमा कुरा अड्किएपछि पुनः बुधबार बस्ने गरी गठबन्धनको बैठक सकिएको छ । ११ वैशाखमा उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

चितवन र कास्कीका कांग्रेस नेतालाई देउवाले भने– गठबन्धनको खाँचो छ, सहयोग गर्नुस्

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कास्की र चितवनका कांग्रेस नेतासँग छलफल गर्दै अहिले तालमेलको आवश्यकता रहेकाले जसले पाए पनि सहयोग गरेर जिताउन निर्देशन दिएका छन् । कास्की र चितवनका नेताहरूले भने सकेसम्म महानगर आफैँसँग राख्न सुझाव दिएका थिए । तर, उनीहरूले केन्द्रबाट निर्णय भए कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

चितवनका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री देउवाले भरतपुर महानगरपालिका माओवादीलाई दिनुपर्ने अवस्था आएको र सहयोग गर्न भनेका थिए । तर, कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले केन्द्रबाट निर्णय भए त्यसलाई लागू गर्ने, तर परिणाम प्रभावित हुन सक्ने बताएका थिए ।

‘सभापतिले काठमाडौं, भरतपुर र विराटनगरमध्ये एक ठाउँको प्रमुखको माग माओवादीले राखेको छ । यी तीनमध्ये एउटा महानगरको मेयर माओवादीलाई दिनुपर्छ । यदि भरतपुर दिनुपर्ने परिस्थिति भयो भने तपाईंले मलाई सहयोग गर्नुपर्छ भनेर प्रस्ताव गर्नुभयो,’ खनालले भने, ‘मैले महानगर प्रमुखमा कांग्रेसको उम्मेदवार हुनुपर्ने निर्णयबाट ब्याक हुन सक्ने अवस्था छैन भनेँ । तर, केन्द्रले गरेको निर्णय कांग्रेस चितवनले पालना गर्छ । सोचेअनुसारको निर्णय आयो भने सहज रूपमा पार लगाउन सक्छौँ । फरक निर्णय आए निर्वाचन परिणाम प्रभावित पार्न सक्छ, त्यसको पूर्ण जिम्मेवार चितवन कांग्रेस हुन सक्दैन भनेको छु ।’

खनालका अनुसार जवाफमा देउवाले भनेका थिए, ‘यदि माओवादीलाई भरतपुर परेको खण्डमा कांग्रेस चितवनले सहयोग गर्नुपर्छ । जसरी कांग्रेसको उम्मेदवार हुँदा तपाईंहरूले सहयोग गर्नुहुन्थ्यो त्यसैगरी माओवादी केन्द्रको उम्मेदवारलाई पनि सहयोग गर्नुपर्ने हुन्छ ।’ भेटमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण र कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ रहेका थिए ।

त्यस्तै, कास्कीबाट छलफलका लागि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा आएका थिए । सभापति शर्माका अनुसार देउवाले पोखराको वस्तुस्थितिबारे जानकारी लिएका थिए । जिल्ला नेताहरूले पोखरा नछाड्न सुझावसमेत दिएका थिए । ‘तपाईंहरूका कुरा गठबन्धन बैठकमा राख्छु । उहाँहरूको अवस्था पनि बताउँछु । हाम्रो अवस्था यस्तो छ र कांग्रेसको अगुवाइमा जानुपर्छ भनेर राख्छु । छलफलबाट यसको टुंगो लाग्नेछ,’ देउवाको भनाइ थियो ।





error: Content is protected !!