नायकवाडा र भुरचौरको कथा – सिँचाइ आयोजना सुरु भएको ३६ वर्ष पछि कामको सुरुवात

हेमन्त केसी
जाजरकोट / जाजरकोटको पुर्वी क्षेत्रमा रहेका दुइ ठुला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्ष पछि कामको सुरुवात भएको छ । बारेकोट गाउँपालिका –४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजना २०४२ सालमा कामको सुरुवात भएको थियो भने अर्को भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणको लागि समितिले अध्ययन गरिरहेको छ ।
भुरचौरको सिँचाइ योजना २०४३ सालमा सुरु भएर बीचमै अलपत्र परेको थियो । नायकवाडाको सिँचाइ आयोजना तत्कालिन वन सहायक मन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भएपनि बीचमै काम रोकिएको थियो । यि दुबै आयोजना निर्माण गर्नका लागि पहल नहुँदा रोकिएको अवस्थामा रहेका थिए । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले माघ २३ गते पद बहाली गर्दा यि दुइ आयोजना निर्माण गर्नका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिदै कामको सुरुवात गर्नुभएको थियो । अध्ययन समितिले नायकबाडा सिँचाइ आयोजनाको काम गर्न सकिने भनेको निष्कर्ष निकालेको छ ।

भुरचौर सिँचाइ आयोजना बारे विस्तृत अध्ययन जारी रहेको बताएको छ । सुक्रबार मात्र कर्णालीका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले सातै प्रदेशका र संघीय सरकारको बीचमा प्रस्तावित सिँचाइ नीति माथीको छलफलको क्रम्मा यि दुइ आयोजनाका विषयमा लिखित प्रस्ताव राख्नुभएको थियो । वर्षेनी नयाँ , नयाँ योजनाहरु प्रस्ताव हुने तर काम बीचमै छोडेर जाने कार्यले गर्दा भारी कामहरु अलपत्र परेको भन्दै पुराना आयोजना सकिने मात्र नयाँमा जानुपर्ने अन्तरक्रियामा सहभागीले जोड दिएका थिए । आयोजना छनोट गर्दा बस्तुबादी र लगानी उठ्ने हुनुपर्नेमा जोड दिइएको थियो ।

कर्णालीको रिर्पोट खास धरातलबाट आएको भन्दै उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुलासले उच्च प्रशंसा समेत गर्नुभएको थियो । नायकवाडा सिँचाइ योजना निर्माण भएमा यहाँका दुइ वटा वडाहरुको भारी जमिनमा सिन्चित हुने छन् । वर्षेनी खाद्यान्न झेल्ने बारेकोटमा यो सिँचाइ योजनाले उत्पादनमा वृद्धि गरी आर्थिक रुपमा बलियो बनाउने स्थानीयबासी जनकबहादुर शाहीले जानकारी दिनुभयो । अहिले आकाशे पानीको भरमा नायकवाडा , मैना लगाएतका ठाउँमा खेती हुँदै आएको छ । धानबाली लगाउदा आकाशे पानी हेरेर मात्र रोपाइ हुने गरेको छ । बारेकोट गाउँपालिकाको सबै भन्दा बढी खेतीयोग्य जमिन नायकबाडामै रहेको छ ।

लगानी धेरै लग्ने भएपछि यो आयोजना बीचमै अलपत्र परिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । करिव १२ किलोमिटर लामो नहर बाट नायकबाडामा पानी लिनुपर्ने अवस्था रहेको छ । प्रतिनिधिसभा सदस्य तथा पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको समेत यो आयोजनामा विशेष चासो रहेको छ । यो आयोजना निर्माण कार्य सुरु हुन थालेको सूचना पाएलगत्तै स्थानीयबासी खुसी भएका छन् ।

उत्ता भुरचौरमा तत्काल सिँचाइ तथा खानेपानीको अवस्था आपुर्ती गर्नका लागि प्रदेश सरकारकै पहलमा लिप्ट मार्फत पानी तानेर समस्य हल भइरहेको छ । भेरी नदीबाट पानी तानेर पानी आपुर्ती गरिएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिनुभयो । वृहत आयोजना भएकाले सानोतिनो लगानीले यि दुइ आयोजना निर्माण गर्न नसकिने प्रमुख शाहीले बताउनुभयो । आश मारिसकेको आयोजना निर्माण सुरु हुन लाग्यो भन्दा अधिकांशले जयजयकार गरेको प्रमुख शाहीले बताउनुभयो ।










