सल्यानमा डढेलो नियन्त्रण गर्न सञ्जाल

सल्यान ः जङ्गलमा लाग्ने डढेलो नियन्त्रण गर्न सल्यानमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको छ । सल्यान डढेलो जोखिमको दोस्रो स्थानमा रहेको छ । डढेलो नियन्त्रण सल्यानमा डिभिजन वन कार्यालय मातहत रहेका ८ सब डिभिजन स्तरमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको हो ।

कुल क्षेत्रफलको ६५ दशमलव ६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २ सय ५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ । जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताए । डढेलोलाई नियन्त्रण गर्न स्थानीय सामुदायिक वन र उपभोक्तालाई नै धेरै जबाफदेही बनाउने उद्देश्यका साथ सञ्जाल गठन गरिएको गिरीको भनाई छ । उनले भने ‘डढेलो नियन्त्रणका लागि कार्यालयले काम गरी रहेको छ । डढेलो नियन्त्रण गर्न कार्यालय एक्लैले केही गर्न नसक्ने भएकाले स्थानीय उपभोक्ता र सामुदायिक वन समूहलाई बढी जिम्मेवारी बनाउने प्रयास गरिएको छ ।’

सञ्जालमा डढेलो विरुद्ध सचेतना, अग्नीरेखा निर्माण, अग्नि रेखा सरसफाइ अभियान अघि सारिएको कार्यालयले जनाएको छ । डढेलोबाट मानव वन्यजन्तुको क्षतिसँगै पर्यावरणीय क्षति समेत हुने उनको भनाई छ । उनले भने ‘डढेलो नियन्त्रणमा समुदायको तदारुकता जरुरी छ । त्यसैले वन जोगाउन सामुदायिक वनका उपभोक्ताहहरुको अहम् भूमिका रहेकाले सबै मिलेर वनलाई डढेलो लाग्नबाट जोगाउनु पर्छ ।’

गर्मी याम सुरु भएसँगै वनमा हुने लागलागि नियन्त्रण गर्न सो आगलागी नियन्त्रण सञ्जाल गठन गरिएको कार्यालयले जनाएको छ । आगलागीका विभिन्न कारणले वनमा हुने क्षति रोक्न पूर्व सजगता अपनाइएको कार्यालय प्रमुख गिरीको भनाई छ ।

डढेलोले कार्बन डाइअक्साइड लगायतका ग्यास उत्सर्जन गर्छ । जसले पृथ्वीको तापक्रम बढ्दै जलवायु परिवर्तनमा भूमिका खेल्छ ।





error: Content is protected !!