छार्काताङसोङको मतदाता संख्या ९६७ मात्र

डोल्पा ः उपल्लो डोल्पाको एक गाउँपालिकाको मतदाता संख्या एक हजार पुगेको छैन । छार्काताङसोङ गाउँपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने मतदाताको संख्या ९ सय ६७ मात्रै छ ।

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमा महिला मतदाताको संख्या ५ सय १६ र पुरुष मतदाताको संख्या ४ सय ५१ मात्रै छ । ६ वटा वडा रहेको यस गाउँपालिकामा ६ वटा मतदान स्थल र ६ वटा मतदान केन्द्र छन् ।

उपल्लो डोल्पाकै डोल्पोबुद्ध गाउँपालिकाका मतदाताको संख्या १ हजार १ सय ८९ छ । ६ वडा रहेको डोल्पोबुद्ध गाउँपालिकामा पनि ६ मतदान स्थल ६ वटै मतदान केन्द्र छन् । यहाँ महिला मतदाताको संख्या ६ सय १७ र पुरुष मतदाताको संख्या ५ सय ७२ छ । जगदुल्ला गाउँपालिकाको मतदाता संख्या १ हजार ६ सय ९६ छ । उपल्लो डोल्पाको से फोक्सुण्डो गाउँपालिकाको मतदाता संख्या पनि दुई हजार पुगेको छ । यहाँ १ हजार ९ सय ९७ मतदाता छन् ।

२ नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा २२ हजार ४ सय ४० मतदाता छन् । यसमा महिला मतदाताको संख्या बढी छ । ११ हजार ३ सय ७९ महिला मतदाता रहेको डोल्पामा पुरुष मतदाताको संख्या ११ हजार ६१ मात्रै छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा सबभन्दा बढी ६ हजार १ सय ६२ छ ।

६५ वडा रहेको जिल्लामा ६६ मतदान स्थल र ६६ वटै मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले बताए । २०७४ सालको स्थानीय तहको निवार्चनमा से फोक्सुण्डो गाउँपालिकाका ९ वडा वडाध्यक्ष, वडा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत निर्वाचित भएका थिए । छार्काताङसोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्रै निर्वाचन भएको थियो भने डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा मात्रै निर्वाचन भएका थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!