सडक बन्यो, पुल बनेन

डोल्पा ः २०६५ मा जाजरकोट–डोल्पा सडक निर्माण थालियो । त्यसको झन्डै ११ वर्षपछि २०७६ असारमा नेपाली सेनाले सडक निर्माणको काम गरी सरकारलाई हस्तान्तरण गर्‍यो । ट्र्याक खुलेपछि यो सडकका सबै खण्डमा साना गाडी पनि चल्छन् । तर स्थानीयको दुःख घटेको छैन ।

सडकमा पुल नबन्दा डोल्पालीको समस्या उस्तै छ । ‘सडक बन्ने कुरा मात्रै ठूलो रहेनछ,’ त्रिपुरासुन्दरी नगरपालिका–५ का जंगबहादुर रोकायले भने, ‘सडकसँग बन्नुपर्ने अरू पूर्वाधार नबन्दा दुःख अझै घटेन ।’ १ सय १७ किलोमिटर सडकको माथिल्ला खण्डमा पुल नहुँदा धेरै दुःख बेहोर्नुपरिरहेको उनले जानकारी दिए । पुल नबन्दा ठाउँठाउँमा गाडीबाट झरेर पैदलयात्रा गर्नुपरिरहेको उनको भनाइ छ ।

जाजरकोटको नलगाड–१२ तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोतमकोट जोड्न ठूलीभेरी नदीमा पुल आवश्यक भए पनि अझै बनेको छैन । तल्लुदेखि डोल्पा सदरमुकाम दुनैसम्मको खण्डको विभिन्न ठाउँमा पनि पुल नभएकै कारण जोखिम भइरहेको छ । ‘सडक बनेको बने पनि सडक बनेको पूरै अनुभूति गर्न पाइएको छैन,’ ठूलीभेरी नगरपालिका–६ का राजेन्द्र बुढाले भने, ‘खोला र नदीहरू आएपछि झरेर सामान पिठ्युँमा बोकी सामान वारपार गराउनुपर्ने बाध्यता छ ।’ उनले पुल नहुँदा दैनिक उपभोग्य सामग्रीको मूल्य अझै घट्न नसकेको बताए । पुल नभएकै कारण स्थानीय उत्पादन सजिलै सडकसम्म पुर्‍याउन समस्या छ ।

सडकको तल्लु र गोतामकोट जोड्न भेरी नदीमा पुल बन्नुपर्नेछ । रिजिगाड र सपमखोलामा पनि पुल आवश्यक छ । पुल नहुँदा यात्रुहरू पल्टी गरेर सामान ओसारपसार गर्छन् । खदाङ, छलगाडखोला र चुंगाडमा पनि पुल आवश्यक छ । यी सबै ठाउँमा पुलबिना बाह्रै महिना सडक चल्न सक्ने अवस्था छैन । हिउँदमा मात्रै सडक चल्न पनि तल्लु, खदाङ र त्रिपुराकोटमा अनिवार्य पुल बन्नुपर्ने स्थानीय कमल शाहीले बताए । अहिले केही ठाउँमा पुल बन्दै छन् ।





error: Content is protected !!