कार्यविधि संशोधन पछि कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण गर्न सुरु
जाजरकोट ः कर्णाली प्रदेशको आठ जिल्लाका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु भएको छ ।
कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका –७ मा ४० घर , बारेकोट गाउँपालिका – ४ ,५ मा ६० घर निर्माण हुन लागेका हुन् । त्यस्तै कालिकोट नरहरिनाथ – ४ डाँडासुन्दरखामा ८० घर , रास्कोट गाउँपालिका –७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका –२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रम अन्तरर्गत १८ घर , खत्याड –८ मै एकिकृत बस्ती अन्तरर्गत २३ घर निर्माण गर्न लागिएको छ ।
हुम्लाको चंखेली गाउँपालिका– ६ मा रातीपुरमा बस्ती विकास योजना अन्तरर्गत ३३ घर , ताजाकोट गाउँपालिका– १,२,३,४ र ५ एकिकृत बस्ती विकास कार्यक्रम अन्तरर्गत ८३ घर निर्माण कार्य जारी रहेको छ । आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डिपिआर) तयार भइ घर निर्माणको चरणमा गएको हो ।
अघिल्लो कार्यविधिले घर निर्माणका लागि बाधा पुगेको भन्दै द्रोस्रो पटक संशोधन भएपछि मात्र घर निर्माणको बाटो खुलेको हो । एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा ,जमिन ,घर पालुवा जनावरमा समेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो ।
अब पायक पर्ने ठाउँमा घर निर्माण गर्न पाउने बाटो खुलेको जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी बताए । तत्कालिन अर्थ समितिका सभापति समेत रहेको मन्त्री सिंहले अब घर निर्माणको काम तिव्र गतीले अगाडी बढ्ने बताए ।