संरक्षणविहीन बालबालिकालाई अभिभावकत्व

रुकुम पश्चिम ः पछिल्लो समय संरक्षणविहीन बालबालिकाले अभिभावकत्व पाउँदै आएका छन् । सानीभेरी गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व दिएको हो । गाउँपालिकाभित्रका टुहुरा र आमाबाबुले छोडेका बालबालिकालाई सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी गाउँपालिकाले सहयोग गरिरहेको छ । जसका लागि कार्यपालिका तथा गाउँसभाबाट ऐन, नियम, नीति र कार्यविधि बनाइएको छ ।

गाउँपालिकाले ३ बालिका र १३ बालक गरी १६ संरक्षणविहीन बालबालिकालाई मासिक २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । जसमा ३ जना दलित, ५ जना जनजाति र ८ जना अन्य समुदायका बालबालिका छन् । संरक्षक तोकेर महिनाको राहत उपलब्ध गराउने गरिएको बाल अधिकार अधिकृत मानवीर ओलीले बताए । उनका अनुसार आमा र बाबुको मृत्युपछि नजिकका आफन्तलाई संरक्षक तोकेर बैंकमा खाता खोलेर रकम जम्मा गरिएको छ । ‘आवश्यक परेका बेला संरक्षक र बालबालिका आफैंले बैंकबाट रकम झिक्न र प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘टुहुरा बालबालिकाको गाँस, बास, कपास तथा शिक्षा, स्वास्थ्यका लागि सामाजिक सुरक्षा कार्यक्रम तय गरेका हौं ।’

कर्णाली प्रदेशमै सानीभेरी गाउँपालिकाले मात्रै यस्तो कार्यक्रम लागू गरेको अधिकृत ओलीको दाबी छ । उनका अनुसार गत आर्थिक वर्षदेखि बालबालिकाले नियमित राहत पाइरहेका छन् । बालबालिकाका लागि गाउँपालिकाले बालविवाह न्यूनीकरणसम्बन्धी रणनीति–२०७४, बालक्लब सञ्जाल गठन तथा सञ्चालन निर्देशिका–२०७४, आपत्कालीन बालउद्धार कोष सञ्चालन निर्देशिका–२०७४ र बालबालिकाको हक अधिकार संरक्षण र प्रवर्द्धनसम्बन्धी कार्यविधि–२०७६ पारित गरेको छ । यिनै कानुनको आधारमा गाउँपालिकाले बालबालिकाको हकहितमा काम गरिरहेको उनले जानकारी दिए ।

बालबालिकाको हकअधिकार संरक्षण र प्रवर्द्धनसम्बन्धी कार्यविधि–२०७६ जारी गरी बालसंरक्षण र सहभागिताको काम गरिरहेको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए । सोही कार्यविधिअनुसार बाल कल्याण अधिकारी तोकिएपछि बालबालिकासम्बन्धी काम गर्न, ऐन, नियम र कानुन बनाउन सजिलो भएको उनले जानकारी दिए । कर्णालीमा बाल कल्याण अधिकारी तोक्ने सानीभेरी पहिलो स्थानीय तह भएको उनको दाबी छ ।





error: Content is protected !!