बेलिब्रिजले जोडियो जाजरकोट–रुकुम

रुकुम पश्चिम ः जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत ठूलीभेरी नदीमा अस्थायी बेलिब्रिज निर्माण भएपछि जाजरकोट र रुकुम पश्चिम जोडिएका छन् । जाजरकोटको नलगाड नगरपालिकाका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलिब्रिज बनाइएको हो ।

बेलिब्रिज बनेपछि पहिलोपटक सवारीसाधनले ठूलीेभेरी नदी तर्न पाएका छन् । यसअघि तल्लुबगरबाट गोतामकोटसम्म तुइनमार्फत सवारीसाधन तारिएको थियो । अहिले जाजरकोट–डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य २ खोलाका ४ ठाउँमा बेलिब्रिज निर्माणको काम भइरहेको छ । तिनै ४ वटा बेलिब्रिज निर्माणका सामग्री ढुवानी गर्नका लागि इकोइन्फ्रा बिल्डर्सले बेलिब्रिज निर्माण गरेको हो । बिल्डर्सका प्रतिनिधि मनोज लेखकले बेलिब्रिज निर्माणको सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्ने गरी पुल तयार भएको बताए । उनका अनुसार अस्थायी बेलिब्रिज भएर अरु ४ ठाउँका पुलहरू सोझै खदाङ पुर्‍याइनेछ । ‘झोलुंगे पुलबाट निर्माण सामग्री ढुवानी सम्भव नभएपछि बेलिब्रिज बनाएका हौं,’ उनले भने, ‘४ ठाउँमा पुल बनेपछि यहाँको बेलिब्रिज झिकेर लगिनेछ ।’ उनका अनुसार झन्डै १५ लाख रुपैयाँको लगानीमा पुल बनाइएको हो ।

स्थानीय र व्यापारीले भने त्यसको उपयोग सबैले गरौं र लगानी पनि सबैको बनाऔं भन्ने प्रस्ताव पनि निर्माण कम्पनीसित गरेका छन् । तर यस विषयमा ठोस सल्लाह भई नसकेको लेखकले बताए । उनका अनुसार अरू पुलको सामान ढुवानीकै लागि अस्थायी बेलिब्रिज तयार गरिएको हो । बिल्डर्सले जाजरकोट–डोल्पा सडकको रुपगाडखोला, त्रिपुराकोट, खदाङ र करबगारखोलामा बेलिब्रिज निर्माणको काम गरिरहेको छ । ती पुल निर्माणस्तलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ भने सामान जडान गर्न मात्र बाँकी छ ।

अहिले त्रिपुराकोट र खदाङमा ठूलीभेरी नदीमाथि बेलिब्रिज बन्दै छ भने रुपगाडखोला र करबगारखोलामा पनि पुल बनाइनेछ । सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुरेश बस्यालले ४ वटा बेलिब्रिज निर्माणको ६० प्रतिशत काम सकिएको बताए । ‘फाउन्डेसन तयार भएको छ,’ उनले भने ‘सामग्री जोड्नवित्तिकै पुलमा गाडी हिँड्न सक्छन् ।’

तल्लुबगरमा पुल नहुँदा नेपालगन्ज, सुर्खेतलगायतका ठाउँबाट आएका सवारीसाधन तल्लुबगरमा रोकिने गरेका छन् । अहिले तल्लुबगरबाट झोलुंगे पुलमार्फत यात्रुहरूले पिठ्युँमै बोकेर सामग्री वारपार गराउने गरेका छन् । गोतामकोटका घनश्याम भण्डारीले निर्माण कम्पनीले अस्थायी बेलिब्रिज बनाएपछि यात्रा सहज बनेको बताए ।





error: Content is protected !!