नेपाली सेनाको बर्द बहादुर गण सर्वोत्कृष्ट

काठमाडौँ ः नेपाली सेनाको बर्द बहादुर गण संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ यूएनआईएफईएल मिसनमा सर्वोत्कृष्ट भएको छ । नेपाली सेनाका अनुसार लेबनान मिसनमा रहेको बर्द बहादुर गण ६२ औं डफ्फा उक्त मिसनमा तैनाथ अन्य १० राष्ट्रका गणहरुमध्ये सर्वोत्कृष्ट भएको हो ।
मिसनको हेडक्वार्टर नाकुरामा आयोजित एक विशेष कार्यक्रममा उक्त गणका गणपतिलाई मिसनको फोर्स कमान्डर मेजर जनरल स्टेफिना डेल कोलले प्रतिक तथा प्रशंसा–पत्र प्रदान गरेका हुन् । गणमा ६ सय ५० नेपाली शान्ति सैनिक थिए ।
उक्त गणले मिसन इलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को अवस्थामा पनि क्षेत्रको आठवटै पालिकाहरुमा कोभिड किट वितरण तथा विभिन्न समयमा नगरपालिकाहरुमा वृक्षारोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्बर्द्धन, गुणस्तरीय डेन्टल सेवा, विद्यालयहरुमा स्टेसनरी वितरण, महिला स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम, सावर्जनिक पार्क तथा बगैंचाहरूको मर्मम्त सम्भार जस्ता प्रभावकारी काम गरेको थियो ।



