हिउँमा फसेका किसान मृत भेटिए, रुकुममा १४ मजदुर पाँच दिनदेखि ओडारमा

रुकुम पूर्व ः मनाङमा हिमपहिरोमा परेर चार दिनदेखि हराइरहेका किसान मृत अवस्थामा भेटिएका छन्। नासों गाउँपालिका–४ ओडारका अन्दाजी ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत फेला परेको मनाङ प्रहरीले जनाएको छ।

मनाङका प्रहरी प्रमुख डीएसपी सुवास खड्काले उनको शव गाउँमाथिको जंगलमा हिउँले पुरिएको अवस्थामा फेला पारेको जानकारी दिए। शवको पोष्टमार्टमका लागि लमजुङको बेंसीसहरस्थित जिल्ला अस्पताल पठाएको खड्काले बताए। भेडीगोठबाट फर्किने क्रममा आच्यों पुस १४ गते बुधबार दिउँसोबाट हराएका थिए।

१४ मजदुर हिउँमा फसे

रुकुम पूर्वमा १४ जना मजदुर पाँच दिनदेखि हिउँमा फसेका छन्। पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको घुसदुङमा १४ जना मजदुरहरू ५ दिनदेखि हिउँमा फसेका छन्।

बाक्लो हिउँ परेपछि उनीहरू बसिरहेको ठाउँमै फसेका हुन्। वडा नम्बर २ बाट बजेट विनियोजन गरेर घोरेटो बाटो निर्माणका लागि योजना परेकोमा सोही घोरेटो बाटो निर्माणमा खटिएका उनीहरू बाक्लो हिउँका कारण आउन नसकेका हुन्।

वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीले उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर आज मात्रै खबर आएको बताए। हिउँमा फसेकाहरू १० जना पुरुष र ४ जना महिला छन्।

हिउँमा फस्नेमा जोकप्रसाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन पाँच दिन देखि ओडारमा बसिरहेको झाँक्रीले बताए।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले आज मात्रै खबर आएकाले उनीहरूको उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकप्टर पठाउन आग्रह गरिएको बताए।





error: Content is protected !!