जुम्ली स्याउको उत्पादन घट्दै, माग बढ्दै

जुम्ला / स्याउखेती जुम्लाको आर्थिक विकासको बलियो स्रोतमध्ये एक हो । यहाँका हजारौं किसान स्याउखेती गरेरै घरखर्चदेखि छोराछोरी पढाउने गर्छन् । बजारमा जुम्ली स्याउको माग बढ्दो छ । किसान पनि स्याउखेतीतर्फ आर्कषित छन् भने, स्याउखेतीको क्षेत्र पनि विस्तार हुँदै गएको छ । तर खेतीमा किसानको आकर्षण, बाह्य बजारमा बढ्दो माग भए पनि दुई वर्षयता जुम्ली स्याउको उत्पादन भने ह्वात्तै घट्दै आएको छ । जसले गर्दा किसान चिन्तित बनेका छन् ।

कृषि विकास कार्यालयको तथ्यांकअनुसार २०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यस्तै २०७७ सालमा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टनमात्रै उत्पादन भयो भने यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टनमात्रै उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

गत वर्षभन्दा यस वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ भने, आशातित उत्पादन १९ प्रतिशतले घटेको छ । गत वैशाख १६ र १८ गते र जेठको ३ र ४ गते असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो । उनले भने, “सिँचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको हो । समयमा पानी नपर्नु, उत्तरी मोहोडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगैचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।”

जम्मा उत्पादन भएको १० हजार ५ सय टनमध्ये ६० प्रतिशत निर्यात भइसकेको छ भने ४० प्रतिशतमात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाइ छ । स्याउ उत्पादन बढाउन बगैचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पु¥याउन आवश्यक छ ।
जुम्लामा प्राङ्गारिक मलको अभावले पनि स्याउ उत्पादन वर्षेनी घट्दै आएको किसान तारा बोहोरा बताउँछन् । “सरकारले जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरे पनि मलको व्यवस्था मिलाउन नसकेको छैन ।” किसानले बोहोराले भने, “गोठेमलको भरमा हामीले खेती गर्नुपर्छ । धान, जौं गहुँलगायत बालीमा त मल पुग्दैन, स्याउमा कसरी पु¥याउने ?”

यस वर्ष असिना र तुसारोले पनि स्याउ उत्पादन घटाएको गुठिचौरका स्याउ किसान कृष्ण न्यौपानेले बताए । सबै किसानले कृषि बिमा नगरेका कारण राहत पाउन पनि पाएका छैनन् । जुम्लामा करिब १७ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् भने यहाँको १० हजार हेक्टरमा स्याउखेती हुने अनुमान छ । तर हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।

कारोबारबाट ।





error: Content is protected !!