प्रचण्डको निर्देशनपछि महाधिवेशनस्थलमा राखिएको ‘कटआउट’ हटाइयो

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनस्थलमा आफ्नो ‘कटआउट’ राखिएको थाहा पाएपछि हटाउन निर्देशन दिएका छन् ।

प्रचण्डको निर्देशनपछि उनको ‘कटआउट’ स्वयंसेवकहरुले हटाएका छन् । पार्टीको ८ औं महाधिवेशन स्थलमा फोटो खिच्नको लागि बनाएको उनको ठुलठला पोस्टर र कटआउट देखेपछि प्रचण्डले तत्काल हटाउन निर्देशन दिएका थिए ।

‘यसरी व्यक्तिलाई केन्द्रित गराएर राखिएको कटआउट कम्युनिस्ट पार्टीको नीति र संस्कृति विरुद्ध हुन्छ, हामी नीतिमा बहस गर्छौ, महाधिवेशनलाई व्यक्तिकेन्द्रित बनाउनुहुन्न, त्यसलाई हटाइहाल्नुस’ अध्यक्ष प्रचण्डले व्यवस्थापन टिमलाई दिएको निर्देशन उदृत गर्दै एकजनाले उज्यालो नेटवर्कलाई भने, ‘उहाँको निर्देशनपछि हामीले हटाइसकेका छौँ ।’

यस विषयमा वाइसीएल नेपालका नेताहरुसँग बुझ्दा वाइसिएलको तर्फबाट कटआउट नराखिएको दावी गरे । ती नेताले भने, ‘हाम्रो तर्फबाट होइन, विद्यार्थीका कमरेडहरुले राख्नुभएको हो भन्ने कुरा आएको छ ।’

एमालेको महाधिवेशन तथा विभिन्न कार्यक्रमहरुमा खड्ग प्रसाद ओलीको कटआउट बनाएर कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष खुशि भएको देखेपछि माओवादी कार्यकर्ताहरुले पनि एमालेको शैली पछ्याउँदै प्रचण्ड कटआउट बनाएपछि प्रचण्ड कार्यकर्ताहरुसंग रुष्ट बनेका थिए ।





error: Content is protected !!