बालबालिकालाइ किन प्रयोग गर्छन दलहरु ?

हेमन्त केसी
जाजरकोट / राजनीतिमा संख्या बढी देखाउनका लागि जाजरकोटका गाउँ , गाउँमा पार्टी प्रवेश गराउने देखि बालबालिकाको भारी प्रयोग बढीरहेको छ । ठुला दलको अधिवेशन चलिरहेको समयमा सबै भन्दा बढी बालबालिका नै प्रयोग गरेको देखिन्छ ।
सभा , सम्मेलन र विरोधका कार्यक्रममा बालबालिकाको प्रयोग अत्यधिक हुँदै आएकोमा अब दल प्रवेश समेत बालबालिकालाइ गराउने काम सुरु भएको छ । दल निकट विद्यार्थी संगठनले आफ्ना माउ दलका नेताको सहभागितामा साना ,साना विद्यार्थीलाइ विद्यालयमा जम्मा गरि विद्यार्थी संगठन विस्तार गर्ने र दल त्याग गर्न लगाइ प्रवेशको हल्ला फिजाउने गरेको अभिभावकहरु बताउँछन् ।
कालिका बालबालिकालाइ शिक्षा र राम्रो संस्कार दिने उमेरमा राजनीति कुरा दिमागमा घुसाएर भविश्य बर्बाद गर्न खाजेको बारेकोट गाउँपालिका – ४ का सुरेन्द्र सिंहले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ पढ्ने ,लेख्ने र नयाँ कुराको जानकारी लिने उमेरमा राजनीतिक कुरामा बालबालिकालाइ खण्डित गरी भविश्य बर्बाद गराउने काम हुनु गलत छ । यसको जती विरोध गरेपनि कम हुन्छ ।’
बालबालिका भनेका काचो माटो हुन् , उनीहरुलाइ जुन संस्कार दिए सोही अनुसारको चेतनामा वृद्धि हुन्छ उहाँले थप्नुभयो । विद्यालयका शिक्षकहरु समेत आफ्नो विचार मिल्ने दल आउन वित्तिकै सबै थोक सुम्पिएर काम गर्ने भएकाले थप विकृती फैलिएको अभिभावकको भनाइ छ । आफ्ना बालबालिका देशका ठुला सहरमा रहेका महंगा विद्यालयमा पढाउने तर गरिका छोरा,छोरी पढ्ने विद्यालयमा राजनीति थलो बनाइ बालबालिकाको भविश्य बर्बाद गर्ने तरिका बन्द गर्नुपर्ने नलगाड नगरपालिका –८ का नरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ नेताहरु मानिस जम्मा गर्ने र धेरै देखाउने बहानामा किन यति तल सम्मा गिर्न सकेको होलान् , यस्ताबाट के आशा गर्न सकिन्छ र ? ’
हप्ता दिन देखि नेकपा ( एमाले ) निकट अनेरास्ववियूले जाजरकोटका सबै पालिकामा शिक्षक तथा नेताहरुको सहभागीतामा विद्यार्थी संगठन विस्तारको नाममा बालबालिका जम्मा गरि कार्यक्रम गर्दैै पार्टी प्रवेश सम्माका कार्यक्रम जारी राखेको छ । शिक्षकहरु बीचमा बसेर सामाजिक सञ्जालमा तस्वीर सार्वजानिक गर्दै फलानो विद्यालयमा संगठन विस्तार गरियो भनि सार्वजानिक रुपमा सबै भन्दा राम्रो काम गरेको झैँ चर्चा बटुल्ने प्रयास गरेको देखिन्छ । एक महिना पहिला नेकपा (माओवादी केन्द्र) निकट अखिल ( क्रान्तिकारी ) ले समेत माउ पार्टीको नेताको सहभागिता विना नै विद्यालयमा गएर संगठन विस्तार गरेको तस्वीर सार्वजानिक भएका थिए । कांग्रेस निकट नेपाल विद्यार्थी संघले भित्रभित्रै कार्यक्रम गरेपनि अनेरास्ववियू जतीकै भडकिलो भने देखाएको छैन ।
एमाले फुटेर दुइ दलमा विभाजन भएसँगै अरु भन्दा चर्को रुपमा एमाले निकटको विद्यार्थी संगठन र एमालेका नेताहरु लागेको देखिन्छ । शिक्षकहरु समेत विद्यालयको कोठा भित्र शिक्षणका लागि जाँदा घुमाइ , घुमाइ दलकै प्रचार गरिरहेको विपक्षी दलको आरोप लगाउदै आएका छन् ।
नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटिका सदस्य सुसिल रावतले भन्नुभयो ,‘ शिक्षकहरुको काम पढाउने हो तर यहाँ घुमाउरो तरिकाले दलकै प्रचार गर्ने गरेको देखिन्छ । हाम्रा ,छोरा,छोरीहरु शिक्षकको गतीविधि बारे खुलेरै हामीसँग कुरा गर्छन । ’ विद्यालयको कार्यालय समयमा समेत आ आफ्ना समर्थक शिक्षकहरु को ठुलो र को सानो भनेर चर्चा,परिचर्चामै बढी समय बिताउने गरेको त्रिभुवन मावि खलंगामा छात्र सुन्दर शाहले बताउनुभयो ।
विद्यालयमा नयाँ ,नयाँ ज्ञानको कुरा गर्ने ठाउँमा कसको दलले जित्ला भन्नेमा मात्र केन्द्रित हुनु दुखद भएको अभिभावक समेत बताउँछन् । अधिकांश शिक्षकहरुको सामाजिक सञ्जालहरु आफू निकट दलकै प्रचारमा रंगिएका देख्न सकिन्छ । सामाजिक सञ्जालमा टिका,टिप्पणी समेत भारी मात्रामा प्रस्तुत भइरहेको हुन्छ ।
जाजरकोटमा सबै भन्दा बढी नेपाली कांग्रेस निकट शिक्षकहरु राजनीतिक रुपमा संगठित भएको पाइएको छ । १४ औँ महाधिवेशनमा मात्र ५० भन्दा बढी कांग्रस निकटका शिक्षकहरु महाधिवेशन प्रतिनिधि ,सदस्य भएर खटिएका थिए । पालिका स्तरको पार्टीकै मुख्य पदमा शिक्षकहरु कार्यकारी पदमा बसेर काम गरिरहेका छन् । बालबालिकालाइ राजनीतिमा प्रत्यक्ष सहभागिता गराउन नपाउने भएपनि कानुनै मिचेर यो काम भइरहेको छ ।



