बन्दुक सहित सिकारी पक्राउ

जाजरकोट ,चारनाल भरुवा बन्दुक सहित जाजरकोटमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार शिवालय गाउँपालिका ६ सुङ्गुरखालीकोका २९ वर्षीय नविन शाही र सोहि स्थानका २२ वर्षीय मनोज शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएस्पी मधुकुमार थापाका अनुसार बिहान करिब ११ बजेतिर अस्थाई प्रहरी पोष्ट थलाबाट गएको प्रहरी गस्तीले शिकार खेल्दैगर्दा नबिन शाहीलाई पक्राउ गरेको हो ।
नविनलाई नियन्त्रणमा लिई निजको घरमा खानतलासी गर्दा लुकाई राखेको थप एकनाल भरुवा बन्दुक प्रहरीले फेला पारेको थियो ।
स्थानीय मनोज शाहीको गोठमा र घरपछाडि ओडारमा समेत खानतलासी गर्दा दुईनाल भरुवा बन्दुक सहित मनोज शाहीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बन्दुकसहित उनीहरुलाई पक्राउ गरी जाजरकोटतर्फ ल्याउँदै गरेको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।









