जाजरकोट – डोल्पा सडक अवरुद्ध , बीचबाटो बाटै फर्कीए पर्यटकहरु

रामचन्द्र न्यौपाने
डोल्पा , ४ कात्तिक ः जाजरकोट –डोल्पा सडकको रुकुम पश्चि र डोल्पा खण्डमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । रुकुम(पश्चिम)मा पर्ने त्रिवेणी बजार र डोल्पामा पर्ने खदाङ्ग बीचमा करपगाड पर्ने दुई स्थानमा गएको सुक्खा पहिरोले गर्दा यहाँको यातायात सेवा ठप्प भएको छ ।
दैनिक उपभोग्या सामग्री ढुवानी ठप्प
करिब एकसय मिटर माथिबाट खसेको पहिरोका कारण जिल्ला डोल्पा जाने र आउने सहारीसाधनहरु ठप्प भएका छन् । मंगलबार देखि रुकुम पश्चिको अनाह देखि छुटेका मालबहाक ट्याकटर , साना ट्रकहरु सडकको दुइ किनारामा रोकिएर राखिएको छ । पहिरोका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खीमबहादुर सिँहले जानकारी दिए । उनले भने ,‘ मुल ठाउँमै पहिरो खसेकाले चामल,नुन,तेल लगायतका सामग्रीहरु भित्रयाउन सकिएको छैन्,बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको छ ।’ सडक खुलाउने बारेमा सडक डिभिजन चौरजहारी कुनै चाँसो नदिएको सिंहले बताए । यत्ता डिभिजन प्रमुख धुर्व झाले आफूलाइ जानकारी नै नआएको बताए ।
ज्यानको बाजी थापेर यात्रा
जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरु ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन् । त्रिपुरासुन्दरी नगरपालिका – ५ का स्थानीय मोतिप्रसाद उपाध्यायले भने , ‘मुल सडकमा पहिरो गएको छ,जिल्ला आउने र बाहिरिने अर्को कुनै बैकल्पिक सडक छैन्,त्यसकारण पनि सर्वधारणहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । ’ त्रिपुरासुन्दरी नगरपालिका आफैसँग डोजर छ,पहिरो गएको तीन दिन बितिसक्दा पनि डोजर पठाएको छैन् ? स्थानीय सरकार भइसकेपछि नगरपालिकाले यस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने कुरामा तत्काल पहलकदमी लिनुपर्ने भएतापनि यति ठुलो पहिरो जाँदा पनि कुनै पनि चासो नदेखाएको उनको भनाई छ ।
मानविय क्षतिहुने सम्भावना
कच्ची सडक र झोलङ्गे पुलका कारण डोल्पासम्म पुग्ने सडक जोखिमयूक्त भएकाले सुधार गर्नुपर्ने फोक्सुण्डो ताल जान हिडेका गुल्मी तम्घासका आन्तरिक पर्यटक श्याम क्षेत्रीले बताए । उनले थपे ,‘डोल्पा पर्यटकीय हिसाबमा अत्यन्तै सुन्दर छ,त्यही भएर पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ,तर करोपगार्डसम्म कसरी ज्यान जोगाएर आइपुगियो सम्झिदा आफँैलाई डर लाग्छ ।’
आन्तरिक पर्यटक बीचबाटै फर्कीए
करोपगार्डमा खसिरहेको पहिरोका गन्तव्यमा पुग्न नसकेपछि फोक्सुण्डो नहेरी पर्यटकहरु बीचबाटो बाटै फर्कन थालेका छन् । उपयुक्त मौसम पारेर डोल्पा आइपुगेका काठमाण्डौ,गुल्मी,बुटवल,पाल्पा लगायतका जिल्लाबाट मोटरसाइकलमा आएका आन्तरिक पर्यटकहरु पहिरो कटाउन पहिरोले अगाडी बढ्न नसकेपछि बीचबाटोबाटै फर्कीएको स्थानीय पौरख रोकायले बताए ।



