मार्सी धान भित्र्याउन चटारो

जुम्ला ः जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ। जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ।

किसानलाई यतिवेला धान काट्न भ्याई नभ्याई भएको किसान सन्देश कठायतले बताए। उनले भने, ‘यहाँ प्रायः सबै खेतको धान एकैपटक पाक्छ।’ जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नुवागी खाने चलन छ। त्यो दिन धान काट्नका लागि उपयुक्त मानिन्छ।

धेरै पानी परेका कारण यो वर्ष धानबालीमा कम उत्पादन भएको किसानको अनुमान छ। जुम्लाका किसानले दशैँलगत्तै मार्सी धान काट्न थालेका छन्। जुम्लामा २ हजार ९ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।

उनका अनुसार १ हजार ४ सय हेक्टरमा काली मार्सी र खैरो मार्सी खेती हुने गरेको छ। बाँकी १ हजार ५ सय हेक्टरमा उन्नत जातको धान खेती हुने गरेको छ। जुम्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण प्रख्यात छ।

राणाकालमा शासकका लागि मार्सी चामल हुलाकबाट काठमाडौँसम्म पुग्ने गरेको यहाँका ज्येष्ठ नागरिकको भनाइ छ। करिब सात सय वर्षअघि चन्दननाथले कश्मीरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरु फोक्टोमा धान खेती सुरु गरेको विश्वास गरिन्छ।

जुम्ली मार्सीलाई विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ। कृषि विज्ञहरूका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन्।

मार्सी चामल खैरो रङ्गको हुने गरेको कृषि विकास कार्यालयका प्रमुख देवकोटाले बताए। उनले भने, ‘खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन्।’

उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले यसको माग बढी हुने गरेको छ। जुम्लामा मार्सी चामलको मूल्य प्रतिकिलो एक सय ८० रुपैयाँसम्म पर्ने गरेको छ।





error: Content is protected !!