कुमार पौडेल ‘इन्काउन्टर’ ः पूर्वगृहमन्त्री बादल र पूर्वआईजीपी खनालविरुद्ध जाहेरी दर्ता

काठमाडौं ः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल ‘हत्या’ प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता भएको छ।
उनीहरुविरुद्ध बुधबार सर्लाहीमा जाहेरी दर्ता भएको हो। जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीलाई समेत बोलाएर बादल र खनालविरुद्ध जाहेरी दर्ता भएको सर्लाहीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। अब उनीहरुमाथि अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका प्रमुख रिद्धिनाथ निरौलाले जाहेरी सनाखत हुने काम सकिएको र प्रतिवेदन तयार पारेर सर्वोच्चमा पठाउने बताए।
सर्वोच्च अदालतले नै जाहेरी दर्ता गरेर अनुसन्धान गर्नू भनि आदेश जारी गरेपछि आदेश कार्यान्वयनका लागि महान्यायाधीवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीलाई पत्र लेखेको थियो। एकहप्ताभित्र जाहेरी दर्ता गर्न भनेका बुधबार जाहेरी दर्ता भएको हो।
२०७६ असार ५ गते दिउँसो पौडले दोहोरो भिडन्तमा मारिएको भन्दै प्रहरीले दाबी गरेको थियो। तर, मानव अधिकार आयोगको टोलीले छानबिन गर्दा इन्काउन्टर नभएर हत्या भएको खुलेको थियो। त्यसबेला आयोगले सरकारलाई ८ बुँदे निर्देशनसमेत जारी गरेको थियो।
जसमा घटनामा प्रहरीलाई निर्देशन दिने तालुकदार निकायका पदाधिकारी तथा आदेश दिने अधिकारी समेतलाई कानुनको दायरामा ल्याउन भनिएको थियो।
आयोगले घटनामा प्रत्यक्ष रुपमा संलग्न प्रहरी निरीक्षक कृष्णदेव साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी अभियोग लगाई कारबाही गर्ने निर्देशन दिएको थियो। त्यस्तै, प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र नायव निरीक्षक सूर्यकुमार कार्कीलाई समेत सचेत गराउन आयोगको निर्देशन थियो।
इन्काउन्टरुको निर्देशन दिने तत्कालीन आईजीपी सर्वेन्द्र खनालसम्मलाई कारबाही गर्न आयोगले निर्देशन दिएको थियो। आयोगको उक्त निर्देशनपछि पुनरावलोकन माग गर्दै सरकारले आयोगसमक्ष निवेदनसमेत दिएको थियो। सरकारको उक्त निर्णय आयोगले खारेज गरेको थियो।
आयोगले यस घटना छानबिनका क्रममा ११ जनासँग सोधपुछ गरेको थियो। उनीहरुले बयानका क्रममा एक प्रहरीले करिब २ मिटरको टाढाबाट आफूले पौडेललाई ६ राउण्ड गोली हानेको बताएका थिए। तर, त्यति नजिकै भएको मुडभेडमा एकतर्फी मात्रै किन क्षति हुन सम्भव नभएको आयोगको ठहर थियो।
आयोगबाहेक अन्य मानवअधिकारवादी संघसंस्थाले पनि उक्त घटनाको अध्ययन गरेका थिए। मानवअधिकार सम्बद्ध संघसंस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, एड्भोकेसी फोरम नेपाल, तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स), महिला मानवअधिकार रक्षक सञ्जाल, नेपाल मानवअधिकार संगठन र उन्नत नेपालले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै पौडेलको गैरन्यायिक हत्या भएको ठहर गरेका थिए।
विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेलको गत असार ३ गते लालबन्दी नगरपालिका -१ लखनदेवीस्थित जंगलमा हत्या भएको थियो। अन टेस्टु मोटरसाइकलसहित २ वटा मोटरसाइकलमा आएका कुमार पौडेलसहित ४ जना व्यक्तिको समूहले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा पौडेलेको ज्यान गएको प्रहरीको दाबी थियो। प्रहरीको उक्त दाबी झुठो ठहर भएको आयोगले निष्कर्ष निकालेको थियो।
घटनास्थलबाट प्रहरीले डेडकर्ड ३ फिट, फ्युज वायर ५ फिट, मेड इन यूएस लेखिएको रिभल्भर १ थान, त्यसको गोली ४ राउन्ड, १ थान कटुवा पेस्तोल, त्यसको गोली २ राउन्ड, अखिल नेपाल भूमिहीन सुकुम्वासी संघ लेखिएको तर कसैको नाम नलेखिएको परिचयपत्र २ सय थान बरामद गरेको दाबी गरेको थियो।










