पवित्र तीर्थस्थल ताम्रावणीमा बन्यो ः शिव मुर्ति सहितको शिवालय मन्दिर

विष्णुप्रसाद देवकोटा
डोल्पा ः जिल्लाको प्रमुख धार्मिक शक्तिकेन्द्रको रुपमा रहेको पवित्र तीर्थस्थल ताम्रावणीमा शिवालय मन्दिर निर्माण गरेर भगवान शिवको मुर्ति स्थापना गरिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक सहयोगमा रु २३ लाखको लागतमा शिवालय मन्दिर सहित त्रिशुल धारी शिव भगवानको मुर्ति समेत स्थापना गरिएको हो ।डोल्पा जिल्लाका प्रशिद्द छलभवानी मष्टाका मुल पुजारी(धामी) वीरचन्द्र रोकायाले नवनिर्मित शिवालय मन्दिरमा झण्डै पाँच फुट अग्लो शिव भगवानको मुर्ति प्रतिस्थापन गरि उद्घाटन गरेका हुन ।शिवालय मन्दिर तथा मुर्ति उद्घाटन पूर्व श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिर तथा प्रशिद्द छलघवानी मष्टाका पुरोहित गुरु यज्ञप्रसाद उपाध्यायबाट होमन समेत गराइएको थियो ।
त्रिपुरासुन्दरी नगरपालिकाबाट शिवालय मन्दिर निर्माण,मन्दिर संरक्षणार्थ नदिमा तटबन्धन निर्माणका लागि १५ लाख र मुर्ति निमार्णका लागि ८ लाख गरेर २३ लाख रुपैया उपलब्ध गराएको निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्दा विष्टले बताईन ।भगवान शिवको मन्दिर काठमाण्डौस्थित कालीगढबाट निर्माण गरेर हेलिकप्टेर मार्फत डोल्पा ल्याइएको समाजसेवी तुलबहादुर विष्टले जानकारी दिए ।नवनिर्मित मन्दिर उद्घाटन तथा शिव मुर्ति प्रतिस्थापन गर्न पुगेका प्रशिद्द छल भवानी मष्टाका मुल पुजारी(धामी) रोकायालाई बाजागाजा सहित उपस्थित दर्शालुभक्तजनहरुले फुलमाला र अविर टिका लगाएर स्वागत गरेका थिए ।
जिल्लाकै धार्मिक एवं तीर्थस्थल मध्येको एक मानिने ताम्रावणीमा शिवालय मन्दिर निर्माण सहित मुर्ति समेत प्रतिस्थापन भएपछि भक्तालुजनहरुको दर्शनार्थ घुइचो लाग्न थालेको छ ।शिरमा प्रशिद्द छलभवानी मष्टा भगवानको मन्दिर उत्तरमा मुकुटेश्वर हिमाल दक्षिणमा श्रीवालात्रिपुरासुन्दरी भगवतीको मन्दिर पुर्वमा गल्लीभवानी मष्टाको मन्दिर बीच संगमखोच भित्र शिवालय मन्दिर स्थापना भई मुर्ति समेत प्रतिस्थापन भएकाले पनि धार्मिक पर्यटन विकासमा यसले थप महत्वपुर्ण भुमिका खेल्ने समाजसेवी बौद्दसिं कठायतले बताए ।मन्दिर तथा मुर्ति प्रतिस्थापन कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका वडाअध्यक्ष तथा स्थानीय भक्तजनहरुको बाग्लो उपस्थिती रहेको थियो ।










