नागरिक समाज डोल्पाको गुनासो ः राजनीति संरक्षणले वेथिती बढ्दै
विष्णुप्रसाद देवकोटा
डोल्पा ः राजनीतिक संरक्षण भएकै कारण डोल्पामा भारी अनियमितता भएपनि सबै मौन भएको एक कार्यक्रमका सहभागीले आरोप लगाएका छन् । समाज रुपान्तरणको लागि नागरिक समाजको भूमिका विषयक कार्यशाला गोष्ठीका सहभागिले उक्त कुरामा जोड दिएका हुन् ।
जिल्लामा सुशासन र पारर्दसिता एवं सरोकारवालालाई खवरदारी गर्नका लागि नागरिक समाज डोल्पाले खेल्दै आएको भूमिका , आवश्यकता महत्वका विषयमा समेत छलफल भएको थियो । जिल्लामा बढदै गएको विकृती , अनियमितताका विषयलाइ साझा मुद्धा बनाइ व्यापक रुपमा भण्डाफोर गर्न समेत सहभागीले जोड दिएका थिए ।
जिल्ला स्तरीय गैह्रसरकारी संघसंस्थाका प्रतिनिधि नागरिक समाज, पत्रकार र मानवअधिकारकर्मीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले नागरिक समाज एक मुनाफारहित संस्था भएकाले यसमा स्वस्फुर्तरुपमा सहभागि भई समाज रुपान्तरणको लागि अगाडी बढ्नु पर्ने भएकाले जिल्लाका हरेक सामाजिक सवालहरुको उठान गर्दा पनि राजनीतिक दलहरुको वेवास्थाले गर्दा कतिपय साझा सरोकारका मुद्धाहरु आझेलमा पर्दै आइरहेको बताए ।
समाजको हित, संरक्षण र परिवर्तनको लागि प्रमुख मुद्धाहरु उठान गर्दा पनि कसैको सहयोग नपाइएको बुढाले गुनासो पोखे । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णुलाल बुढाले विगतमा नागरिक समाजले जिल्लाका साझा मुद्धाहरुमा सशक्त आवाज उठाउदै आइरहेको बताए । उनले जिल्ला अस्पताल दुनैको भवन निर्माणको लागि बनाइएको डिपिआर परिवर्तन पनि खवरदारीकै परिणम भएको बताए ।
समाज जागरण केन्द्रका कार्यक्रम संयोजक कर्ण भण्डारीले नागरिक संस्थाको संस्थागत लेखाजोखा,सचिवालयको भूमिका र एकीकृत भएर साझासवाल उठानमा सबैको हातेमालोकोका लागि नागरिक समाजसंगको आवद्धता संख्या बढाउनु पर्ने बताए ।