कांग्रेस अधिवेशन ः कर्णालीमा एकमात्र महिला सभापति

सल्यान – ७९ वटा पालिका रहेको कर्णाली प्रदेशमा कांग्रेसको अधिवेशनमा सीता केसी एकमात्र महिला सभापति बन्नुभएको छ । छत्रेश्वरी गाउँपालिकाको सभापतिमा केसीले प्रतिद्वन्द्वी टेकबहादुर बिष्टलाई पराजित गरेर उहाँ सभाति हुनुभएको हो । मतदानमा केसीले ६१ मत ल्याउनुभयो भने बिष्टले ४२ मत पाउनुभयो ।

छत्रेश्वरी–४ लेखपोखराकी ४२ वर्षीया केसी २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्ष निर्वाचित हुनुभएको थियो  । उहाँका बुबा तुल्सीराम भण्डारी २०४८ मा कांग्रेसबाट गाविस उपाध्यक्ष बन्नुभएको थियो । ‘घरको वातावरणले पनि सानैदेखि राजनीति बुझ्न र यसमा लाग्न सहयोग गर्‍यो,’ उहाँले भन्नुभयो ‘अहिले राजनीतिलाई नै पेसा र कर्म बनाएकी छु ।’ कांग्रेसको १३ औं महाधिवेशनमा साविक दमाचौर गाविसबाट क्षेत्रीय प्रतिनिधि चयन भएकी उहाँ जिल्ला सदस्य पदमा पनि निर्वाचित हुनुभएको थियो ।

कक्षा ८ पढ्दापढ्दै १४ वर्षको उमेरमा विवाह गरेकी उहाँले पढाइलाई केही वर्षपछि निरन्तरता दिनुभयो । २०६४ मा एसएलसी उत्तीर्ण भएकी उनले गाउँकै विद्यालयबाट कक्षा १२ को पढाइ सक्नुभयो  । घरको आर्थिक अवस्था कमजोर भएपछि पति नेबबहादुर केसी केही वर्ष वैदेशिक रोजगारीमा जानुभयो । ‘परिवारको सबै जिम्मा मेरै हुन्थ्यो, तर पनि छोराछोरी पाल्दै १२ सम्मको शिक्षा पूरा गरे,’ केसीले भन्नुभयो ‘त्यो बेला पनि समाजसेवा र राजनीतिक काममा सक्रिय नै भएँ ।’ सशस्त्र द्वन्द्वको समयमा उनको परिवार सदरमुकाम विस्थापित भएको थियो ।

छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी उपाध्यक्ष केसी सबैको प्रेरणाको स्रोत भएको बताउँछन् । ‘उहाँको आत्मविश्वास र काम गर्ने शैली अरूभन्दा धेरै फरक छ,’ उहाँले भन्नुभयो, ‘उहाँ जिम्मा लिएको काम नसकेसम्म अरू कुरामा वास्तै गर्नुहुन्न ।’ उनको सहयोगले स्थानीय सरकार चलाउन सहज भएको उहाँले बताउनुभयो । स्थानीय तहको उपाध्यक्ष हुँदा पनि धेरै कुरा सिकेकाले राजनीतिमा थप सक्रिय बन्ने उहाँको योजना छ ।




सम्बन्धित समाचार


error: Content is protected !!