डोल्पामा विद्युतीकरण गर्न ठेक्का लागेपनि काम भएन

हेमन्त केसी
जाजरकोट – ११ केभी प्रशारण लाइन डोल्पामा पुर्याउनका लागि अघिल्लो आर्थिक वर्षमा ठेक्का भएपनि काम सुरु हुन सकेको छैन । झण्डै ७ करोडको ठेक्का अघिल्लो वर्ष खोलिएको तर काम सुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सुरेन्द्र अग्रहरीले बताउनुभयो ।
जाजरकोट नलगाड नगरपालिकाको चौखा स्टेशनबाट डोल्पाको त्रिपुराकोट सम्मको कामको ठेक्का लिएपनि काम नगर्दा समस्य भइरहेको उहाँले बताउनुभयो । झण्डै ४२ किलोमिटर लम्वाइ रहेको छ । नमुना कन्टक्सन रामेछापले ठेक्का लिएको उहाँले बताउनुभयो । लाइन विस्तार भन्दा पहिला गरिने प्रि–कन्स्ट्रक्सन सर्भेका लागि काम भएपनि सो काम त्रुटीपूर्ण भएपछि फेरी गत्ती सच्याउन तीन महिना अघि पत्र लेखिएको उहाँले जानकारी दिनुभयो ।
सर्भे गर्दा गल्ती भएको ठाउँमा सच्याइ तुरुन्तै काम गर्न आग्रह गरिएको तर ठेकेदार सम्पर्कमा नरहेको प्रमुख अग्रहरीले बताउनुभयो । कोभिडको कारण देखाउदै काम नगरेको निर्माण व्यवसायीलाइ तुरुन्तै काम गर्न कार्यालयबाट ताकेता भइरहेको उहाँले जानकारी दिनुभयो ।
जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली सम्मा ११ केभी प्रशारण लाइन पुगिसकेको छ । त्यहाँबाट चौखा सम्माको विद्युत प्रशारण लाइनको काम समेत भइरहेको छ । जाजरकोट तर्फको पुरा काम भएमा मात्र डोल्पा सम्मा विद्यतीकरण गर्नका लागि बाटो खुल्ने देखिन्छ । प्रदेश कार्यालयबाट त्रिपुरोकोटमा सव स्टेशन निर्माण गर्ने योजना रहेको छ भने केन्द्रबाट अन्य ठाउँमा पनि भएको बताएको छ ।
त्यस्तै जाजरकोटको बडाबन र समाइलामा तिहार लगत्तै बोलपत्र हुने उहाँले बताउनुभयो । जाजरकोटको बारेकोट , कुशे र जुनिचाँदेमा लाइन बिस्तारका लागि ठेकेदारको लापरबाहीका कारण काममा बाधा उत्पन्न भएको छ । केही योजना केन्द्र र केही योजना प्रदेशबाट हुँदा काममा निगरानी कम भएको बताएको छ ।
११ केभी प्रशारण लाइन छिटो डोल्पा पुगेमा त्यहाँ निर्माण हुन लागेको जगदुल्ला हाइडो«पावरको कामलाइ समेत सहयोग पुग्ने देखिन्छ । अन्य सम्भाव्यता अध्ययन भइहेका भेरी ए ,बी र सी आयोजनाको समेत काममा सहयोग पुग्ने अपेक्षा लिइएको छ । नलगाड नगरपालिका –७ मा निर्माण हुन लागेको ४०० केभी प्रशारण लाइनको कामलाइ समेत गती दिनका लागि पहल भइरहेको बताएको छ ।
केन्द्रबाट हुने काममा सबै भन्दा कम निगरानी हुदा परिणाम निकाल्न समस्या भएको कर्मचारीहरु बताउँछन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला र कालीकोट राष्ट्रिय प्रसारण लाइनको पहुँचमा जोडिएका छन । कार्यालयका अनुसार प्रदेशभर सबैभन्दा बढी रुकुम पश्चिमका ७५.२ प्रतिशत र सबैभन्दा कम जाजरकोटमा १६.१५ प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगकोे बताएको छ ।
कार्यालय प्रमुख सुरेन्द्र अग्रहरीका अनुसार सुर्खेतका ४८.१६ प्रतिशत, दैलेखका ४८.७३ प्रतिशत, कालीकोटका ४३.५७ प्रतिशत, मुगुमा १९.६४ प्रतिशत र हुम्लाका २९.६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा रहेको छ ।
यस्तै, सल्यानका ५२.८८ प्रतिशत, डोल्पाका २१.९ प्रतिशत र जुम्लाका १९.३ प्रतिशत घरधुरी विद्युतको पहुँचमा छन । कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा कर्णालीलाई अँध्यारोमुक्त बनाउने भन्दै ‘कर्णाली उज्यालो कार्यक्रम’ सुरु गरेको थियो ।
सडक निर्माणको गती सुस्त
जाजरकोट – डोल्पा सडक खण्डको स्तरउन्नतीको काम सुस्त हुँदा अन्य विकास निर्माणका काममा समेत बाधा उत्पन्न भएको छ । पासागाड – रिम्ना सडक खण्डको काम सुरु गरेको दुइ वर्ष भइसक्दा पनि एक मिटर सम्मा पिच हुन नसक्नुले समस्या भएको छ ।
सडकको स्तरउन्नती र विद्युतको काम सँगसँगै भएमा एकले अर्कालाइ बाधा नपुगी विना क्षति काम हुने अपेक्षा लिइएको थियो । विद्युतीकरणका लागि प्रशारण लाइन निर्माण भइसक्दा सम्मा सडक तोकिएको समयमा निर्माण नगर्दा सडक निर्माण कार्यले प्रशारण लाइनमा समस्या ल्याउने आशंका गरिएको छ ।
जाजरकोट खण्डका ठुला पुलहरु सडक डिभिजन चौरजहारीले निर्माण कार्य सम्पन्न गरेको र साना पुलहरु मात्र केही बाँकी रहेको बताएको छ ।










