चार जना सञ्चारकर्मीहरूद्वारा सरकारले दिएको पदक अस्वीकार

काठमाडौं ः संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको पदक केही सञ्चारकर्मीहरूले अस्वीकार गरेका छन् ।
पदक अस्वीकार गर्ने पत्रकारहरूमा नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटक, इकागज डटकममा प्रधानसम्पादक हरिबहादुर थापा, नेपाल समय डटकमका प्रधानसम्पादक नारायण अमृत र कार्टुनिस्ट रविन सायमी रहेका छन् ।
पदकहरूको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैँ पदक स्वीकार गर्नु नैतिक नहुने भन्दै देवकोटाले पदक अस्वीकार गरेका हुन् ।
थापाले विगतमा पदकका लागि पटक–पटक सोधिएको र अस्वीकार गरेको बताउँदै यसपालि भने सोध्दै नसोधी आफ्नो नाम राखिएको बताएका छन् ।
संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति आफू सधैँ अहसमत भएको नारायण अमृतले बताएका छन् ।
कार्टुनिस्ट सायमीले हाललाई यो विभूषण ग्रहण नगर्ने बताएका छन् ।










