पाँच दलीय गठबन्धनमा चुनावी तालमेल हुन्छ – माधव नेपाल

काठमाडौं ः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन्। शुक्रबार पार्टी कार्यालय शुभारम्भ गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनाबी तालमेल हुने बताएका हुन्।
पाँच दलीय गठबन्धनमा एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी९जसपा०, राष्ट्रिय जनमोर्चा रहेका छन्। केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी दलहरुबीच गठबन्धन बनेको थियो।
नेता नेपालले बागमती र प्रदेश १ सरकारको नेतृत्वमा आफूहरुको दाबी रहेको बताएका छन्। उनले यसै हप्ताभित्र सरकार बन्ने बताएका हुन्। ‘बागमती प्रदेशमा पनि सरकार बनाउने तयारी छौं। प्रदेश१ मा पनि सरकार बनाउने छौं। आशा गरौं यो हप्ता भित्र हुन्छ’ अध्यक्ष नेपालले भने।
नेकपा एमाले विभाजन गरी गठन भएको एकीकृत समाजवादीका बागमती प्रदेश सभामा १३ जना प्रदेश सभा सदस्य छन्। नेकपा (एमाले) का ५६ जना प्रदेश सभा सदस्यमध्ये १३ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका हुन्।
१३ जना प्रदेश सांसदहरुले एकीकृत समाजवादी रोजेपछि एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यको वर्तमान सरकार अल्पमतमा परेको छ। प्रदेश एकमा नेकपा एमालेका ५१ सदस्य रहेका थिए जसमध्ये १० जना एकीकृत समाजवादी पार्टी लागेका थिए।










