युभेन्टस बराबरीमा रोकियो, रोनाल्डोको गोलले पाएन मान्यता

इटाली – सिरी ए लिगमा युभेन्टस पहिलो खेलमै बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा अर्जेन्टिनी स्टार पाउलो डिबलाको कप्तानीमा रहेको युभेन्टस युडिनेस क्लबसँग २–२ को बराबरीमा रोकिएको हो ।

भ्रमण टोली युभेन्टसले खेलमा अग्रता बनाएपछि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले बेन्चबाट खेल सुरु गरेका थिए । उनी खेलको ५९ मिनेटमा मैदान छिरेका हुन् । खेलको इन्जुरी समयमा उनले गोल गरे पनि ‘भार’ले त्यसलाई मान्यता दिएन ।

यसअघि खेलको तेस्रो मिनेटमै युभेन्टसले अग्रता बनाएको थियो । कप्तान डिबलाले रोड्रिगोको पास सदुपयोग गर्दै गोल गरे । खेलको २३ मिनेटमा जुआन कोड्राडोले टोलीलाई अग्रता २–० को दिलाए । उनले डिबलाको पास सदुपयोग गरेका थिए ।

दोस्रो हाफमा युडिनेसले दुई गोल गर्‍यो । रोबर्ट पेरेराले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ८३ मिनेटमा युडिनेसकै जेरार्ड डेउलोफेउले गोल गर्दै घरेलु टोलीको हार टारे ।

बराबरीसँगै युभेन्टसले सिजन १ अंकबाट सुरु गरेको छ । उ आठौं स्थानमा रहेको छ । युडिनेस भने नवौं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा नेपोलीले भेनेजियालाई २–० गोल अन्तरले पराजित गर्‍यो । यता, रोमाले भने फ्लोरेन्टिनालाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।





error: Content is protected !!