भ्रमण वर्ष सचिवालयको ३५ करोड खर्च उपलब्धिविहीन

सरकारले २० लाख पर्यटक ल्याउने योजनासहित गठन गरेको नेपाल भ्रमण वर्ष–२०२०को सचिवालयले गरेको ३५ करोड २८ लाख ७२ हजार रुपैयाँ खर्च उपलब्धिविहीन भएको ठहर महालेखा नियन्त्रकको कार्यालयले गरेको छ ।

शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षकको ५८औं प्रतिवेदनमा भनिएको छ, “उपलब्धि मापन गर्ने स्थिति नदेखिएको र सो खर्चबाट सञ्चालित कार्यकमले भविष्यमा पर्यटन प्रवद्र्धन अप्रत्यक्ष योगदान पुग्ने जनाए पनि तत्कालको खर्च उपलब्धिमूलक देखिएन ।” कोभिड–१९ का कारण १ वैशाख २०७७ देखि स्थगित भएकोले कार्यक्रमको नेपाल सरकारको २०७७(०७८ को वार्षिक नीति तथा कार्यकममा कम्तीमा २० लाख पर्यटक आगमन गराई सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने उद्देश्य अनुरूप मन्त्रिपरिषद्को २०७४साउन ३१ को निर्णयबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी नेपाल भ्रमण वर्ष अभियान। २०२० सुरु भएको थियो । कार्यकम कार्यान्वयन गर्न अभियान चलिरहेको अवस्थामा विश्वव्यापी रूपमा आएको महामारी कोभिड–१९ को कारण मन्त्रिपरिषदको २०७६ चैत ९ को निर्णयले २०७७ वैशाख १ गते देखि कार्यक्रम स्थगन भई सोही मितिबाट सचिवालय खारेज भएको थियो ।

प्रतिवेदन अनुसार, कार्यक्रम सञ्चालन गर्न सचिवालयले ३० करोड ६३ लाख १० हजार खर्च गरेकोमा सञ्चालित कार्यकममध्ये नेपालभित्र २६ करोड ६६ लाख ७७ हजार रुपैयाँ र नेपाल बाहिरको कार्यक्रममा ३ करोड ९६ लाख ३३ हजार रुपैयाँ खर्च गरेको छ । अभियानको उद्देश्य संसारभर नेपालको प्रचार प्रसार गरी पर्यटक प्रवद्र्धन कार्यकम सञ्चालन गर्ने तर्फ केन्द्रित हुनुपर्नेमा प्रतिवेदनमा अधिकांश काम आन्तरिक पर्यटक प्रवद्र्धनसँग केन्द्रित रहेको देखिएको उल्लेख छ ।

प्रतिवेदनले उद्देश्यअनुरूप कार्यक्रम सञ्चालन नभएको, नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अन्तरगत नेपाल पर्यटन बोर्ड स्थापना भई पर्यटन प्रबद्र्धन सम्बन्धी कार्यहरू हुँदै आएको उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डको स्थायी संरचनाबाट यसप्रकारका अभियान सञ्चालन नगरी अस्थायी संरचना खडा गरी कार्यक्रम संञ्चालन गर्नु उपयुक्त नभएको ठहर गरेको हो ।

यस्तै भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको ठमेलस्थित केशरमहल मर्मत सम्भार गरी सचिवालय सञ्चालन गर्न भवनको मर्मत सुधारमा ५६ लाख २९ हजार खर्च गरेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट रेक्ट्रोफिटिङ गर्नुपर्ने भएको जनाई सचिवालय १ फागुन २०७६ देखि काठमाडौं नक्सालस्थित भाडाको घरमा सरेको र भाडाको घर मर्मत गर्न ९ लाख ५० हजार खर्च गरेको प्रतिवेदनमा देखाइएको छ । “भूकम्पबाट क्षतिग्रस्त भवन मर्मत गरेको र तत्कालै घर छाड्नु परेकोले उक्त खर्च प्रयोजनविहीन हुन गएको छ,” प्रतिवेदनमा भनेको छ, “नेपाल भ्रमण वर्ष, २०२० कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा ९ मा २० लाख रुपैयाँभन्दा बढीको खरिद गर्दा राष्ट्रिय बोलपत्रको माध्यमवाट खरिद गर्नुपर्ने उल्लेख छ । सचिवालयले विभिन्न कार्यक्रमअन्तर्गत १२ करोड ८४ लाख ४० हजारको सोझै खरिद गरेको छ ।”

कार्यक्रम कार्यान्वयन उपसमितिको ४ मंसिर २०७६ मा बसेको बैठकले कार्यक्रम अन्तर्गत उद्घाटन समारोहको व्यवस्थापन गर्न १५ दिनको समय दिई खुला बोलपत्र आह्वान गर्ने निर्णय गरेकोमा ४ करोड १३ लाख ७४ हजारको खरिद कार्य समेत २० लाख रुपैयाँसम्मका प्याकेज बनाइ टुक्रा गरी सोझै खरिद गरेको छ । बोलपत्रको माध्यमबाट खरिद नगरी पटक पटक सोझै खरिद गरेकोले खरिद कार्य प्रतिस्पर्धी र मितव्ययी देखिएन ।’ खरिद कार्यमा प्रतिस्पर्धात्मक विधि नअपनाएको महालेखाले जनाएको छ । सरकारले भ्रमण वर्ष सचिवालयको राष्ट्रिय संयोजकमा सरकारले सुरज वैद्यलाई २०७५ कात्तिक १६ गते नियुक्त गरेको थियो । तत्कालीन सरकारले भव्यताका साथ जनवरी १ मा ३ करोड रुपैयाँ खर्च गर्दै विश्वभरका समुदायलाई नेपाल भ्रमणको सन्देश दिन दशरथ रंगशालामा भ्रमण वर्षको शुभारम्भ गरेको थियो । सरकारले यसअघि सन् १९९८ र सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाएको थियो ।





error: Content is protected !!