बैंकको लापरबाहीले गुम्यो ९२० बालबालिकाको पोषण भत्ता

जाजरकोट –  बैंकको लापरबाहीले भेरी नगरपालिकाका नौ सय २० बालबालिकाले एक बर्षको पोषण भत्ता गुमेको छ । सरकारले ५ बर्ष मुनिका बालबालिकालाई दिदै आएको पोषण भत्ता एनआइसि एसिया बैंकमा सम्झौता अनुसार असार २८ गते नगरपालिकाले जम्मा गरेको थियो । आर्थिक बर्ष ०७७/ ७८ को पोषण भत्ता भेरी नगरपालिका भित्रका चार वटा वडाका बालबालिकाले दिने गरि सम्झौता गरिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए ।

आर्थिक बर्षको अन्त्यमा काटेको चेक १५ दिन भित्र नसाटिए त्यो चेक स्वतः रद्द हुने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार त्यो ४७ लाखको चेक सटाउने अन्तिम म्याद साउन १२ गते सम्म थियो । अन्तिम दिन सम्म पनि आज मात्र म्याद हो चेक सटाउनु भयो कि भएन भनेर बैकलाई फलो अप गरेका छौ तर बैंकले कामैै गरिदिएन नगरप्रमुख घर्तीले बताए ।

भेरी नगरपालिकाका वडा नम्बर ४, ८, ९ र १० का नौ सय २० बालबालिकाको पुरै एक बर्षको करीव ४७ लाख रुपैयाँ एनआइसि एसिया बैंकमा जम्मा गरेपनि सो रकम बैंकले बालबालिकाको खातामा जम्मा नगरिदिदा रकम फ्रिज भएको नगरप्रमुख घर्तीले बताए । भेरी नगरपालिका ४ का एक सय ३९ जना, वडा नम्बर ८ का दुई सय ६३ , वडा नम्बर ९ का दुई सय १० र वडा नम्बर १० का तीन सय आठ जना बालबालिका पोषण भत्ता पाउन बाट बञ्चित भएका हुन् ।

मासिक चार सयका दरले एक जना बालबालिकाले चार हजार आठ सय रुपैयाँ पाउनबाट बञ्चित भएका छन् । यस अघि सम्बन्धित वडाले बालबालिकाका अभिभावकलाई नगद बुझाउने गरेकोमा गत आवको दोस्रो चौमासिक देखि सरकारले अनिवार्य बैक खातामा भत्ता जम्मा गर्नु पर्ने राजपत्रमा सूचना जारी गरि निर्देशन गरेकोले सोही अनुसार सो रकम जम्मा गरिएको थियो ।

भेरीका १३ वडा मध्य नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, सिटिजन्स बैंक र एनआइसी एसिया बैंकमा सामाजिक सुरक्षा भत्ता र पोषण भत्ताका लागि खाता संचालन गर्ने निर्णय गरिएको थियोे । एनआइसी एसिया बैंक बाहेक अन्य बैंकले बैंक खाता खोली रकम निकासा लिएर सम्बन्धितलाई रकम भुक्तानी दिइरहेका छन् । तर एनआइसी एसिया बैंकबाट कारोबार गर्ने निर्णय गरेका वडा नम्बर ४, ८, ९ र १० को पोषण भत्ताको रकम समयमा जम्मा नहुँदा बालबालिकाले भत्ता नपाउने भएका हुन् ।
स्रोतका अनुसार बैेकले सामाजिक सुरक्षाका अन्य चेक साटेपनि पोषण भत्ताको चेक राख्ने कर्मचारीले वेवास्ता गर्दा समय घर्किएको हो । बेला घर्किसकेपछि बैंकका मेनेजर लगायतका कर्मचारी नगरपालिका र कोष तथा लेखा नियन्त्रक कार्यालय गएर हारगुहार गरेपनि समस्य समाधान नभएको पाइएको छ ।

यस सम्बन्धमा एनआइसी एसिया बैंक जाजरकोट शाखाका प्रबन्धक खगेन्द्र मल्ल बैंक खाता खोल्ने स्वीकृति लगायतका सवै काम केन्द्रबाटै हुने भएकोले ढिलाई भएको बताए । उनले सामाजिक सुरक्षा भत्ता र पोषण भत्तामा पहिलो पटक काम गरेकाले पनि समस्या भएको स्वीकार गरे । सामाजिक सुरक्षा भत्ताको चेक साटेपनि पोषण भत्ताको चेक साट्न ढिलाई भएको तर पछि सिस्टमले नै चेक लिन नमानेपछि यस सम्बन्धमा के गर्ने भनेर नगरपालिका, कोलेनी र बैकको केन्द्रिय कार्यालयमा परामर्श भैरहेको मल्लले बताए । कोष तथा लेखा नियन्त्रककोे कार्यालयका कोष नियन्त्रक नरेश भट्टले समस्य समाधानको कुनै उपाय नभएको बताए ।





error: Content is protected !!