बर्षायाम कटाउन ९ हजार क्वीन्टल चामल माग

नन्दा शाही
जाजरकोट , १० असार ः वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले ९ हजार क्वीन्टल चामल माग गरेको छ ।
बारेकोट भित्रकै खाद्य उत्पादनले १२ महिना खाना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । गाउँपालिकाले घाट स्थित डिपोमा ५ हजार क्वीन्टल चालम र काउली डिपोमा ४ हजार क्वीन्टल सहुलियतको चामल उपलव्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटलाइ आग्रह गरिएको अध्यक्ष शाहले बताउनुभयो । बारेकोटमा अघिल्लो वर्ष गएको बाढी , पहिरोले भारी मात्रामा क्षती भएपछि यहाँका सर्वसाधारणहरु समस्यमा पदै आएका छन् ।

खेतीयोग्य जमिनमा व्यापक क्षती हुँदा यो वर्ष उत्पादनमा समेत गिरावट आएको थियो । आकाशे पानीको भरमा लगाएको मकैबालीमा व्यापक क्षती भएपछि सर्वसाधारणहरु समस्यामा परेका हुन् । बारेकोट ४ का ७३ घरधुरीहरु यो वर्षामा पनि अघिल्लो वर्ष बितरण गरिएका पालहरु टाँगेर सुरक्षित ठाउँमा बसीरहेका छन् । मकै लगाएको खेतबारीमा बाढी ,पहिरोले भारी क्षती गर्दा खाद्यान्न संकट परेको बारेकोट गाउँपालिका –५ का जनकबहादुर शाहीले बताउनुभयो । यो वर्षमा मात्र सडक सञ्जालमा जोडिएको बारेकोटमा वर्षायाममा पहिरो तथा खोलामा पानीको बहाब बढ्दा सडक अवरुद्ध हुने गर्दछ ।
कच्ची कटान र र्याउलो माटोको कारण बारेकोटको सडक सजिलै अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुनु अगाबै बारेकोटमा खाद्यान्न ढुवानी कार्य पुरा गर्न गाउँपालिकाले यो आग्रह गरेको हो । त्यस्तै अघिल्लो वर्ष छियाछिया भएको जमिन यो पटकको वर्षामा पनि जोखिम कायम रहेकाले सर्वसाधारणलाइ सुरक्षित ठाउँमा बस्न गाउँपालिकाले आग्रह गरेको छ । बाढी ,पहिरोबाट हुँन सक्ने क्षतीको उद्धारका लागि गाउँपालिकाले बीरेन्द्र हिमालय माध्यमिक विद्यालय लिम्सामा अस्थायी व्यारेक निर्माण गरि २० जना सशस्त्र प्रहरी बलको उद्धार टोलीलाइ क्यापिङ गरेर राख्ने पहल सुरु गरेको बताएको छ ।
जनताको जिउधनको सुरक्षाका साथै उद्धार तथा राहत वितरणमा सहजता ल्याउन अस्थायी व्यारेक बनाइ उच्च सतर्कताका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ । जिल्लाको दुर्गम गाउँपालिका मध्य बारेकोट पनि एक हो । नलगाड नदीको किनारमा बसोबास गर्ने सर्वसाधारणलाइ उच्च सावधानीका साथ बस्न समेत आग्रह गरिएको छ ।








