बनगाड कुपिण्डेमा जनप्रतिनिधिको विवादले कामकाज प्रभावित

सल्यान – कोरोना महामारीको बेला अन्य स्थानीय तहका जनप्रतिनिधि कोरोना नियन्त्रणमा जुटिरहेका बेला सल्यानको बनगाड कुपिण्डेका जनप्रतिनिधिहरु एक आपसमा विवाद अल्झिएका छन्।

बहुमत र अल्पमत भन्दै आर्थिक वर्ष २०७५/०७६ को वजेट सभा बिथोलिएको विषयलाइ लिएर नगरपालिकाका जनप्रतिनिधि बीच विवाद उत्पन्न भएको हो। नगरपालिकाले हाल सम्म कोरोना रोकथाम तथा नियन्त्रण्का लागि बोलाएको कार्यपालिकाको बैठक बस्न सकेको छैन्।

बसेका बैठकहरु पनि नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिले बहिष्कार गर्दै आएका छन्। यस्तो कोरोना महामारीको अवस्थामा सबै नगरपालिकामा जनप्रतिनिधि गम्भीर रुपमा कोरोना नियन्त्रण तथा रोकथाममा सक्रिए भएका बेला माओवादीका जनप्रतिनिधिले पुरानै रोग दोहोर्‍याइ रहेको नगर प्रमुख गोविन्द कुमार पुनले बताए।

उक्त नगरपालिकामा कुनैपनि कार्यविधि पास नहुदा एम्बुलेन्स सञ्चालनमा समेत समस्या रहेको छ। पार्टी एक हुँदा सबै कुरा मिलेकै थियोे अब पार्टी फुटेर आ–आफ्नो किनारा लागेपछि नगरमा हरेक निर्णय हुँदा जटिलता थपिने गरेको छ।

माओवादी केन्द्रले भने नगर प्रमुख पुनमाथि गम्भीर आरोप लगाएको छ। केही दिनअघि नेकपा माओवादी केन्द्रका नगरकमिटी अध्यक्ष कीर्तिबहादुर रानाले विज्ञप्ति जारि गर्दै स्थानीय सरकार व्यक्तीवादी, कुण्ठाग्रस्त, मुठ्ठीभर, गुटका आफ्ना आसेपासेलाई नगरमा भर्तीकेन्द्र बनाएको आरोप लगाएका छन्।

यस्तै विकास योजनाहरु रातारात फेरवदल गरेको, नगरको अन्य विकास निर्माण कार्य शुन्य गतिमा अघि बढिरहेको लगाएतका थुप्रै आरोपहरु विज्ञप्तिमा लगाइएको छ।





error: Content is protected !!