अन्तर्वार्ता बिनै कर्णालीमा १ सय १२ स्वास्थ्यकर्मी नियुक्त गर्ने निर्णय

सुर्खेत – कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा प्रतिकार्यको लागि शुक्रबार १ सय १२ जना स्वास्थ्यकर्मी नियुक्त गर्ने निर्णय गरेको छ । प्राविधिक जनशक्ति सेवा करारमा छनोट गर्ने कार्यविधिमा बाधा अड्काउ फुकाउँदै अन्तर्वार्ता बिनै पाँचौं तहका स्वास्थ्यकर्मी नियुक्तिको निर्णय गरिएको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत असोज ८ गते ७६ जना स्टाफ नर्स, १० जना हेल्थ असिस्टेन्ट, १२ जना ल्याब टेक्निसियन, ६र६ जना रेडियोग्राफर र फार्मेसी सहायक तथा एकजना कविराजको विज्ञापन खोलेको थियो । शैक्षिक योग्यता, कार्य अनुभव, स्थानीय तह र समावेशी अंकको आधारमा संक्षिप्त सूची तयार गरिए पनि परीक्षा हुन सकेको थिएन । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बाधा अड्काउ फुकाउँदै विज्ञापन गरिएको संख्याभन्दा नबढ्ने गरी अन्तर्वार्ताबिनै संक्षिप्त सूचीअनुसार करारमा नियुक्त गर्न सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य सेवा निर्देशनालयलाई स्वीकृति दिएको थियो ।

 

निर्देशनालयले विज्ञापन गरिएको संख्याभित्र योग्यताक्रम अनुसार छनोट सूचीमा परेका उम्मेदवारलाई ५ दिनभित्र नियुक्ति लिन सूचना गरेको छ । निर्देशक डा रविन खड्काका अनुसार सबैभन्दा बढी ६९ जनालाई सुर्खेतस्थित प्रदेश अस्पतालमा खटाइएको छ । बाँकी स्वास्थ्यकर्मीलाई प्रदेशका अन्य जिल्ला अस्पतालमा खटाउने निर्णय भएको छ ।

यसैबीच, वीरेन्द्रनगर नगरपालिकाले सरुवा भएर आएका ४४ जना स्वास्थ्यकर्मीलाई हाजिर हुन नगराएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । उनीहरुले मन्त्रालयले समायोजन गर्दै वीरेन्द्रनगर नगरपालिकामा खटाए पनि हाजिर हुन नदिइएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले ती स्वास्थ्यकर्मीलाई वीरेन्द्रनगर नगरपालिकामा खटाए पनि दरबन्दी रिक्त नरहेको भन्दै नगरपालिकाले हाजिर हुन दिएको छैन । नगर प्रमुख देवकुमार सुवेदीले वैशाख १३ गते मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकामा नर्सिङ र प्यारामेडिक्सतर्फ ४१ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा कुनै पनि दरबन्दी रिक्त नरहेकोले काममा लगाउन नसकिने बताएका छन् ।

 

सीअहेब (छैटौं) उदयबहादुर थापाले समायोजन मिलानसम्बन्धी मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरेर रमना बुझेर वीरेन्द्रनगर नगरपालिकामा गए पनि कामकाज हुन नदिइएको बताए । ‘कोभिडको कारण एकातिर स्वास्थ्यकर्मीको अभाव छ, अर्कोतिर वर्षौंदेखि काम गरेका अनुभवी स्वास्थ्यकर्मीलाई काम गर्नबाट रोकिएको छ,’ उनले भने, ‘कोरोना संकटको बेला हामीमाथि मात्र होइन, जनतामाथि अन्याय भएको छ ।’





error: Content is protected !!