वालुवाटारमा बादलको अडान ः नजित्ने चुनाव नलड्ने ?

रघुनाथ बजगाईं
काठमाडौं । वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार (वैशाख २४ गते) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । तर, सत्तारुढ दल नेकपा एमालेले आफ्नो उम्मेदवार बिहीबार साँझसम्म टुङ्ग्याएको छैन ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो यो । माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि रिक्त भएकोले उपचुनाव हुन लागेको हो । खाली भएको ठाउँमा एमालेले पुनः बादललाई निर्वाचन लडाउन चाहेको छ । तर, स्वयं बादल भने उपचुनाव लड्न तयार नभएको नेताहरुले बताएका छन् ।

उपनिर्वाचनमा वाग्मती प्रदेशमा तपाईंहरुको उम्मेदवार को हो रु भन्ने प्रश्नमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेल भन्छन्, ‘जो जो साथीहरु पूर्वमाओवादीबाट एमालेमा आउनुभएको थियो, एमालेमा आएबापत, प्रधानमन्त्रीको कदमलाई साथ दिएबापत ज–जसले पद छोड्नु परेको छ त्यस ठाउँमा हुने उपनिर्वाचनमा हाम्रो उम्मेदवार उहाँहरु नै हो । तर, उहाँहरुले आफैं चाहनु भएन भने अर्कै कुरा (उम्मेदवार) हुन्छ ।’

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल भएको थियो । तर, उम्मेदवारको टुङ्गो भने लाग्न सकेन ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टीले उठाएको उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

‘…जनप्रतिनिधिहरु मतदाताहरुसंग कुराकानी अगाडि बढाउने र जितलाई सुनिश्चित हुने गरी छलफल गर्ने निर्णय गरेका छौं । उम्मेदवारको बारेमा हामी छिट्टै निर्णय गर्छौं’ ज्ञवालीले भने ।

वालुवाटार स्रोतका अनुसार स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा वाग्मती प्रदेशमा पुनः बादललाई उठाउने प्रस्ताव प्रस्तुत भएको थियो । तर, स्वयं बादलले आफू उपचुनावमा उठ्नका लागि चुनाव जित्ने निश्चित हुनुपर्ने बताए ।

‘बादल कमरेडले जित निश्चित हुनुपर्छ भनेर राख्नुभयो । नजित्ने चुनाव नलड्ने उहाँको अडान छ । त्यसकारण आज उम्मेदवारको टुङ्गो लाग्न सकेन’ एक स्थायी कमिटी सदस्यले अनलाइनखबरसंग भने ।

मतदताको तथ्याङ्क केलाउँदा वाग्मती प्रदेशमा एमाले एक ठाउँमा हुँदा एमालेको उम्मेदवारले जित्ने सम्भावना बढी छ । तर, एमालेभित्रको विवादका कारण माधव नेपाल पक्ष विपक्षी गठबन्धनमा सामेल भएमा केपी शर्मा ओली पक्षको उम्मेदवारले जित्ने सम्भावना कम देखिन्छ ।
नेताहरुका अनुसार एमालेभित्रकै माधव नेपाल पक्षले विपक्षी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भनेका कारण बादल चुनाव लड्नबाट हच्किएका हुन् ।

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र वाग्मती प्रदेशमा साझा उम्मेदवारका रुपमा डा। खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेका छन् ।

तर, माधव नेपाल पक्षका केही मतदाता विपक्षी गठबन्धनमा जान्छन् भनेर चुनावबाट डराउन नहुने बताउँछन् एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्याकुरेल । ‘माधव नेपाल पक्षका केही उता गए, उताको पनि यता आउन सक्छन्, ल्याउन सकिन्छ । चुनावबाट डराउने भन्ने कुरा त हुँदैन नि’ प्याकुरेलले  भने ।

गत वैशाख १० गते बालुवाटारमै बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बादललाई नै उम्मेदवार बनाउने बताएका थिए । तर, विपक्षी गठबन्धनमा माधव नेपाल पक्ष सामेल भएपछि बादल हच्किएका हुन् ।

नेताहरुका अनुसार आफ्नो उम्मेदवारको जित निश्चित गराउन माधव नेपाल पक्षका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने विषयमा समेत शीर्ष तहमा छलफल चलेको छ ।

मतदताको तथ्याङ्क केलाउँदा वाग्मती प्रदेशमा एमाले एक ठाउँमा हुँदा एमालेको उम्मेदवारले जित्ने सम्भावना बढी छ । तर, एमालेभित्रको विवादका कारण माधव नेपाल पक्ष विपक्षी गठबन्धनमा सामेल भएमा केपी शर्मा ओली पक्षको उम्मेदवारले जित्ने सम्भावना कम देखिन्छ ।

वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ गरी ३४८ मतदाताले वाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य चयन गर्छन् ।

प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५६, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २र२ जना छन् । जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना हाल कांग्रेसतिर छन् ।

एमालेका ५६ जना सांसद केपी शर्मा ओली र माधव नेपाल पक्षमा विभाजित छन् ।

गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा एमाले माधव पक्षका २२ जना र माओवादी केन्द्रका २३ जनाले हस्ताक्षर गरेका थिए । यसलाई आधार मान्ने हो भने हाल प्रदेश सभामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद प्रदेश सभा सदस्य छन् ।

यस्तै, स्थानीय तहका २३८ मतदातामध्ये एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन् । एमालेको १३३ मा ओली पक्ष र माधव नेपाल पक्षमा विभाजित छन् ।

मतभारका हिसाबले एमालेको प्रदेश सभामा २६८८ र स्थानीय तहका प्रमुख र उपप्रमुखमा २३९४ गरी कुल ५०८२ मत भार छ । तर, यो मत विभाजन हुँदा एमाले उम्मेदवारलाई निर्वाचन जित्न मुश्किल पर्ने देखिन्छ ।

एमाले सिंगैलाई छोड्दा कांग्रेस र माओवादी केन्द्र र जसपाको गठबन्धनसँग ५४ प्रदेश सभा सदस्य छन् । जसको मतभार २५९२ हुन्छ । विपक्षी गठबन्धनको स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १०५ जनप्रतिनिधि छन्, यसको मतभार १८९० हुन आउँछ । यसरी विपक्षी गठबन्धनसँग कुल ४४८२ मतभार छ ।

यस हिसाबले काँग्रेस, माओवादी, जसपा, साना दलसमेतको मतभार सिंगो एमालेको भन्दा कम छ । तर, एमालेको माधव पक्ष विपक्षी गठबन्धनमा उभिदा एमालेको समग्र मत भार घट्न जाने र विपक्षी गठबन्धनको बढ्न जाने देखिन्छ ।

उपनिर्वाचनको तयारी पूरा

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ । बिहीबार अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । जसमा प्रदेश सभातर्फ ११० र स्थानीय तहतर्फ २३८ गरी ३३८ मतदाता रहेका छन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दल दर्ता गरेका छन् ।

उपनिर्वाचनका सबै कार्यक्रम आयोगले हेटौंडामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुनेछ । हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । मतदानको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।

मतदान स्थलमा सम्बन्धित व्यक्तिबाहेक अन्यलाई प्रवेश निषेध गरिएको र सामाजिक दुरी कायम हुने र अन्य स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागू हुने गरी व्यवस्थापन गर्न भनिएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गर्ने र शुक्रबार नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

वैशाख २९ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।





error: Content is protected !!