संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा अग्राधिकारसहित कारण देखाऊ आदेश

काठमाडौं ः संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्ध सर्वोच्चमा दर्ता गरेका थिए। रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

न्यायाधीश ढुंगानाको आइतबारको एकल इजलासले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा संवैधानिक परिषद्को कार्यालय, राष्ट्रिय सभा अध्यक्षलगायतका विपक्षीका नाममा यस्तो आदेश जारी गरेको हो।

सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गरेका थिए। उनीहरूले संवैधानिक आयोगहरूमा नियुक्तहरूलाई काम गर्नबाट रोक्न माग गरेका थिए।

सभामुख सापकोटा गत शुक्रबार रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए। संवैधानिक परिषद्ले मंसिर ३० गते विभिन्न आयोगहरूमा ३८ जनालाई नियुक्त गरेको थियो। जसमध्ये दुई जनाले नियुक्ति अस्वीकार गरेका थिए भने चार जनाको योग्यता पुगेको थिएन।




सम्बन्धित समाचार


error: Content is protected !!