कलाकारको अभिनय यात्रा

दुई, तीन वर्षअघि वर्षमा एक सय वटाभन्दा बढी नेपाली चलचित्र बनेर प्रदर्शन हुन्थे । तर, यो वर्ष कोरोना कहरका कारण चलचित्र भवनहरू बन्द रहे । कुनै पनि चलचित्र प्रदर्शन हुन पाएन । यो वर्ष नयाँ चलचित्र रिलिज होला, नहोला यसै भन्न सकिँदैन ।

नेपालमा मात्र होइन, विश्व बक्स अफिस नै अहिले शून्य अवस्थामा छ । चलचित्र प्रदर्शनको स्थिति अन्योल रहे पनि चलचित्र निर्माणको गति भने बिस्तारै बढ्न थालेको छ । बनेका चलचित्रमा स्थापित कलाकारभन्दा नयाँ अनुहारको बाहुल्य छ । तर, पछिल्लो समय देखापरेका नयाँ अनुहारहरू स्थापित हुन भने सकिरहेका छैनन् ।

२०७६ सालभित्र प्रदर्शित चलचित्रहरूमा देखापरेका नयाँ नायक र नायिकाले स्थापित हुने सम्भावना देखाउन सकेनन् । पूर्वपोर्न स्टारका रूपमा कहलिएकी बलिउड स्टार सनी लियोनीको विशेष भूमिका रहेको ठूलो बजेटको नेपाली चलचित्र ‘पासवर्ड’बाट उदाएकी परी राणा, ‘लभ डायरिज’की रुबिना थापा र ‘साङ्लो’की नायिका प्ूर्वमिस नेपाल निकिता चन्दकप्रति धेरैले सम्भावनाको दृष्टि राखेका थिए । तर, उहाँहरूमध्ये कसैले पनि आफ्नो यात्रालाई दिगो बनाउन सक्ने सम्भावना देखाउन सक्नुभएन ।

सुविन भट्टराईले लेख्नुभएको ‘समर लभ’ उपन्यासमा आधारित चलचित्रमा आशिष पिया र रेवती क्षेत्रीले अभिनय क्षेत्रमा पाइला टेक्नुभयो । ‘रणवीर’बाट सुपुष्पा भट्ट र शुभेच्छा खड्का, ‘सयकडा दस’बाट करुणा श्रेष्ठ, ‘गरुड पुराण’बाट प्रियङ्का सिंह ठकुरी, ‘बैना’बाट रञ्जिता लिम्बू, ‘आरोप’बाट ऋचा राउतले अभिनय जगत्मा प्रवेश गर्नुभयो । यस्तै ‘बुलबुल’बाट मुकुन भुसालले यो क्षेत्रमा प्रवेश गर्नुभयो । उहाँहरूमध्ये पनि अभिनेता मुकुन भुसालमात्र चर्चा कमाउन सफल हुनुभयो ।

पछिल्लो दुई/तीन वर्षमा धेरै नयाँ कलाकारहरू चलचित्रमा प्रवेश गरे । तर, अभिनेता भुसालका साथै ‘रणवीर’की नायिका सुपुष्पा भट्ट, ‘क्याप्टेन’की उपासना सिंह ठकुरीबाहेक अरूको खासै चर्चा भएको पाइँदैन । चर्चामा आएका कलाकारहरूले पनि आफ्नो यात्रा दोस्रो चलचित्रसम्म पु¥याउन सकेका छैनन् । कतिपयको यात्रा त दुई वा तीन चलचित्रभन्दा अगाडि बढ्न सकेको छैन । दुई/तीन वर्षअघि मात्रै ‘के म तिम्रो हैन र’ चलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएका आर्यन अधिकारी र मरिष्का पोखरेलमध्ये आर्यन अधिकारीलाई नेपाली चलचित्रमा राम्रो अभिनेताका रूपमा चर्चा गरिएको थियो । चलचित्र निर्माता/ निर्देशक आकाश अधिकारीको भतिजसमेत पर्ने भएकाले आर्यनलाई सजिलैसित यो क्षेत्रमा स्थापित हुन सक्ने अनुमान लगाइएको थियो ।

यसपछि आर्यनले नायिका प्रियङ्का कार्कीसँग ‘बटरफ्लाई’ र नायिका सृष्टि श्रेष्ठसँग ‘बाँध मायाले’मा अभिनय गर्नुभयो । यी चलचित्रले कुनै छाप छोड्न नसकेपछि आर्यन अधिकारीको अभिनय यात्रा यहीँ रोकियो । सृष्टि श्रेष्ठलाई पनि नेपाली चलचित्रमा स्थापित हुन सक्ने नायिकाका रूपमा हेरिएको थियो । नयाँ पुस्ताका नायक अनमोल केसीसँग ‘गाजलु’बाट अभिनय यात्रा थालेकी सृष्टिले ‘रोमियो एन मुना’, ‘पोई प¥यो काले’, र ‘बाँंध मायाले’ गरी जम्माजम्मी चारवटा मात्रै चलचित्र खेल्नुभयो । अभिनेता सौगात मल्लसँगको प्रेमसम्बन्धका कारण सृष्टि चर्चामा पनि रहनुभयो । प्रेमी सौगात मल्लसँग जोडी बाँधिएर उहाँले केही चलचित्र भने खेलिरहनुभएको छ ।

आर्यन अधिकारीसँग पहिलो चलचित्र खेल्नुभएकी मरिष्का पोखरेललाई पनि एक सशक्त प्रतिभा भएकी नायिका भनेर चर्चा गरिएको थियो । उहाँले यसपछि ‘चपली हाइट–२’, ‘मि भर्जिन’, ‘साली कसको भेनाको’लगायत चलचित्रमा काम गर्नुभयो भने त्यसपछि उहाँको अभिनय यात्राले विश्राम लिएको पाइन्छ । मरिष्का बलिउडमा स्थापित हुने मनसाय लिएर यो क्षेत्रमा आउनुभएको हो । तर, बलिउड यात्रा पनि नेपालमै छायाङ्कन गरिएको ‘यारा’को छोटो रोलमा मात्र सीमित रह्यो ।

यसैगरी ‘चपली हाइट–२’ बाट चलचित्रमा प्रवेश गर्नुभएकी परमिता राज्यलक्ष्मी राणा, पहिलो शृङ्खला ‘चपलीहाइट’बाट यो क्षेत्रमा आउनुभएकी विनिता बरालले सुरुमा ठूलै चर्चा कमाए पनि उहाँहरूको यात्रा पनि लामो हुन सकेन । अनमोल केसीसँग नै चलचित्रमा पदार्पण गरेकाहरूमध्ये ‘जेरी’की आना शर्माले ‘द माएन फ्रम काठमाडौँ’ जस्तो चर्चित चलचित्रमा अभिनय गर्नुभयो भने ‘कृ’की अदिति बुढाथोकीको यात्रा ‘कृ’ मै सीमित रह्यो ।

अनमोल केसीसँग ‘होस्टेल’मा अभिनय गर्नुभएकी प्रकृति श्रेष्ठ, ‘जेरी’मा अभिनय गर्नुभएकी आना शर्मा, ‘कृ’की अदिति बुढाथोकी र ‘गाजलु’की सृष्टि श्रेष्ठमध्ये पूर्वमिस नेपाल सृष्टिले आफ्नो यात्रा तीन/ चार वटासम्म चलचित्रमा पु¥याउन सफल हुनुभयो । अदिति बुढाथोकीलाई त हिन्दी चलचित्रमा समेत खेल्नका लागि अनुबन्धित भएकी एक प्रतिभाशाली नायिकाका रूपमा चर्चा गरिएको थियो । त्यतिबेला जस्तोसुकै चर्चा गरिए पनि अहिले उहाँको चर्चा शून्य छ ।

दीप्ति गिरीले बालकलाकारका रूपमा अभिनय यात्रा थाल्नुभएको थियो । उहाँले नायक आर्यन सिग्देलसँग ‘के म तिम्रो साथी बन्न सक्छु र’बाट नायिकाका रूपमा अभिनय गर्नुभयो । उहाँको यो यात्रा यत्तिमै सीमित हुन पुग्यो । शिव श्रेष्ठ, भुवन केसी र राजेश हमालजस्ता लोकप्रिय कलाकारहरूको पुस्तापछि विराज भट्ट र निखिल उप्रेती स्थापित भएको देखियो । त्यसपछि राजबल्लभ कोइराला, जीवन लुइँटेल र आर्यन सिग्देलको चर्चा गर्दा आर्यन सिग्देलले मात्रै स्थापित कलाकार हुने सफलता प्राप्त गर्नुभयो । त्यसपछिको नयाँ पुस्तामा अनमोल केसी सँगसँगै प्रदीप खड्का, पल शाहलगायत आकाश श्रेष्ठ, सुशील श्रेष्ठ र आयुष्मान देशराज श्रेष्ठजस्ता नायक यो क्षेत्रमा देखिनुभयो । उहाँहरूमध्ये अनमोल केसी र प्रदीप खड्कामात्रै लोकप्रियताको शिखर चढ्न सफल हुनुभयो ।

पल शाह र आयुष्मान देशराज श्रेष्ठ पनि केही हदसम्म यो यात्रामा अगाडि बढिरहनुभएको छ ।
युवापुस्ताका नायकका रूपमा अनमोल केसीको व्यस्तता बढ्दै गएपछि कतिपय निर्माता, निर्देशकहरूले उहाँको विकल्प रोज्नुपरेको उदाहरण धरै छन् । अरू त अरू अनमोल केसीको आफ्नै आमा सुस्मिता बोम्जनले निर्माण गर्नुभएको ‘म त तिम्रै हुँ’का लागि समेत अनमोल केसीले समय व्यवस्थापन गर्न नसकेपछि यस चलचित्रमा आकाश श्रेष्ठलाई नायक बनाइएको थियो । ‘होस्टेल’को शृङ्खलाका रूपमा निर्माण गरिएको ‘होस्टेल रिटर्नस’मा अनमोल केसीले नखेल्ने भएपछि सुशील श्रेष्ठलाई नायक बनाइएको थियो । यस्तैगरी, अनमोल केसीलाई लोकप्रिय नायकका रूपमा स्थापित गराउने चलचित्रहरू ‘होस्टेल’, ‘जेरी’ र ‘गाजलु’का निर्देशक हेमराज बीसीले आफ्ना चलचित्रहरूमध्ये ‘ग्याङस्टर ब्लुज’मा आयुष्मान देशराज श्रेष्ठका आफ्नै भाइ आशिरमान देशराज श्रेष्ठलाई नायक बनाउनुभएको थियो । यस्तै, निर्देशक बीसीले ‘द ब्रेकअप’मा पनि आशिरमानलाई नै नायक बनाउनुभयो । अब आयुष्मान देशराज श्रेष्ठको अभिनय यात्रा कति लामो हुने हो त्यो भने अहिले नै भन्न सकिने अवस्था रहेन ।

आकाश श्रेष्ठको यात्रा ‘रामकहानी’सम्म र सुशील श्रेष्ठको यात्रा ‘कारखाना’ नामक चलचित्रसम्म पुगेपछि अहिले विश्रामको अवस्था छ । कोरोना कहरका कारण समस्त क्षेत्र नै अहिले विश्रामको अवस्थामा छ । अनमोल केसीसँग अभिनय गर्न‘भएका धेरै नायिकाको यात्रा छोटो नै रह्यो । तर, ‘ड्रिम्स’मा अनमोलसँग नायिका बन्नुभएकी साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय यात्रा भने निकै राम्ररी अगाडि बढिरहेको छ । ‘ड्रिम्स’पछि साम्राज्ञीको ‘ए मेरो हजुर–२’, ‘तिमीसँग’, ‘इन्टु मिन्टु लन्डनमा’ र ‘मङ्गलम’ प्रदर्शित भइसकेको छ । यीमध्ये ‘ए मेरो हजुर–२’, ‘इन्टु मिन्टु लन्डनमा’लाई धेरैले मनपराएका छन् । ‘ए मेरो हजुर–२’ मा साम्राज्ञीसँग नायकका रूपमा देखापरेका सलिनमान बानियाँको अभिनयलाई धेरैले मन पराएका छन् । आफ्नो पहिलो चलचित्रको सफलतापछि केही समय यस क्षेत्रबाट उहाँ विश्राम लिएर बस्नुभयो । उहाँको दोस्रो चलचित्र ‘यात्रा’ हो । तेस्रो चलचित्र भने कहिले आउने हो कुनै खबर छैन् । ‘इन्टु मिन्टु लन्डनमा’मा साम्राज्ञीसँग धीरज मगरलाई नायक बनाइएको थियो । उहाँलाई पनि यस चलचित्रमा धेरैले मनपराएका थिए । अहिले उहाँ दोस्रो चलचित्र ‘आई एम ट्वान्टी वन’ को तयारीमा हुनुहुन्छ । उहाँ आफ्नो युट्युब च्यानलको प्रवद्र्धनमा व्यस्त रहँदै आउनुभएको छ ।

नयाँ पुस्ताका नायिकाहरूमा साम्राज्ञी राज्यलक्ष्मी शाह पछि ‘ऐश्वर्य’बाट अभिनय यात्रा थाल्नुभएकी दीपिका प्रसाईं र ‘लिलिबिली’बाट यात्रा थाल्नुभएकी जसिता गुरुङ पनि हुनुहुन्छ । उहाँहरूमध्ये दीपिका प्रसाईंले ‘छक्का पञ्जा–३’मा पनि काम गर्नुभयो । यसपछि उहाँले ‘ऐश्वर्य’का निर्देशक दीवाकर भट्टराईसँग विवाह गरेर दाम्पत्य जीवन बिताइरहनुभएको छ । आफ्नै श्रीमान् भट्टराईले बनाउन लागेको नयाँ चलचित्रमा खेल्ने तयारी उहाँले गरिरहनुभएको छ । जसिता गुरुङले भने आफ्नो पहिलो चलचित्र ‘लिलिबिली’का नायक प्रदीप खड्कासँगै ‘लभ स्टेसन’मा अभिनय गर्नुभएको छ । उहाँले अब नायक धीरज मगरसँग ‘आई एम ट्वान्टी वन’मा अभिनय गर्दै हुनुुहुन्छ ।

नेपाली चलचित्र जगत्मा प्रवेश गरेका नयाँ कलाकारहरूको यात्रा लामो हुन सकेको छैन । चलचित्रमा नायक–नायिका हुनु भनेको आकर्षक कमाइ हुनु हो भन्ठानेर यस क्षेत्रमा धेरै आएका हुन्छन् । तर, यो आशा छिट्टै निराशामा परिणत हुन्छ । अनि अभिनयतिर ध्यान जाँदैन, एउटा दुइटा चलचित्र खेल्यो, हरायो ।





error: Content is protected !!