चाडपर्व त आए आमा, तिमी कहिल्यै आएनौ !

दशैँ आयो, तिहार आयो, आमा तिमी आएनौ,
घरभरि खुसी छायो, तर तिमी मुस्कुराएनौ।

पहिले दशैँ आउँदा घरमा कति रमाइलो हुन्थ्यो,
तिम्रै हातको टीका र जमराले मन कति रमाउँथ्यो।
यो वर्ष पनि आँगनमा जमरा त पलायो आमा,
तर तिम्रै हातबाट टीका लगाउने दिन हरायो आमा।

तिहारमा दियो बल्छ, घर झिलिमिली हुन्छ,
तर तिमी नभएको घरमा मन किन अँध्यारो हुन्छ?
सबैका निधारमा आमाको हातबाट टीका लाग्छ,
मेरो निधार भने तिम्रै हातको स्पर्श खोजिरहन्छ।

भाइबहिनी जम्मा हुँदा तिम्रै यादले सताउँछ,
तिम्रो खाली ठाउँ देख्दा मन भक्कानिएर आउँछ।
न नयाँ लुगा किन्ने रहर छ, न चाडपर्वको उमङ्ग,
तिमीबिनाको दशैँ–तिहारमा कहाँ हुन्छ र खुसीको रङ?

आमा, तिमी फर्केर आउने बाटो छैन भन्ने थाहा छ,
तर हरेक चाडपर्वमा तिम्रै प्रतीक्षामा यो मन छ।
तिमी हुँदा यो घर स्वर्गजस्तै लाग्थ्यो,
आज घर त उही छ, तर त्यो स्वर्गजस्तो माया हराएको छ।

आमा, अरूका लागि दशैँ–तिहार खुसी र उमङ्गका पर्व होलान्, तर मेरा लागि यी दिन तिमीलाई अझ धेरै सम्झाउने दिन बनेर आउँछन्। सबैको घरमा चाडपर्वको रौनक छाउँदा मेरो मनमा भने तिम्रै अभावले आँसु झार्छ।

तिमीले छोडेर गएको त्यो खाली ठाउँ कसैले भर्न सक्दैन आमा। तिम्रो माया, तिम्रो बोली, तिम्रो स्पर्श र तिम्रो न्यानोपन हरेक दिन सम्झनामा आइरहन्छ।

मिस यू आमा !

तिम्रो सम्झनामा सधैँ तड्पिरहनेछु।

हार्दिक श्रद्धासुमन, प्यारी आमा !

— शोबिता विश्वकर्मा ❤️





error: Content is protected !!