कर्णालीका उद्योगको अवस्था बुझ्न मन्त्री खड्काद्वारा स्थलगत अनुगमन

सुर्खेत ः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको नेतृत्वमा सुर्खेतका विभिन्न स्थानमा सञ्चालित उद्योग तथा पर्यटकीय पूर्वाधारको स्थलगत अनुगमन गरिएको छ।

मन्त्री खड्काको नेतृत्वमा मन्त्रालयका सचिव अजितकुमार कर्ण, सुर्खेत डिभिजन वन कार्यालयका प्रमुख (डीएफओ) राधाकृष्ण दास, सुरक्षाकर्मी तथा सम्बन्धित सरोकारवालासहितको टोलीले विभिन्न उद्योग तथा संरचनाको अनुगमन गरेको हो।

अनुगमनका क्रममा उद्योगहरूको सञ्चालन अवस्था, कच्चा पदार्थको उपलब्धता तथा व्यवस्थापन, वातावरणीय मापदण्डको पालना र स्थानीय रोजगारीमा परेको प्रभावबारे जानकारी लिइएको थियो।

टोलीले भेरीगंगा नगरपालिका–१० मा रहेको एक्सआईएनएनईएनजी शिन्न प्रालिको चुत्रो उत्पादन उद्योगको स्थलगत अनुगमन गरी उद्योगको उत्पादन तथा सञ्चालन अवस्थाबारे जानकारी लिएको छ।

त्यस्तै, भेरीगंगा नगरपालिका–७ जहरेबजारस्थित सामुदायिक वनभित्र निर्माण तथा सञ्चालनमा रहेको हरित गृह पार्कको निरीक्षण गरिएको छ। सोही क्षेत्र नजिकै रहेको बेसार उद्योगको समेत अनुगमन गरिएको छ।

यसैगरी, गुर्भाकोट नगरपालिका–१० गुम्खोरस्थित युयुन बायोटेक प्रालिको उद्योग परिसरमा विशेष अनुगमन गरिएको थियो। उक्त उद्योगमा कच्चा पदार्थको व्यवस्थापन, वातावरणीय मापदण्डको कार्यान्वयन तथा स्थानीयलाई उपलब्ध गराइएको रोजगारीका अवसरबारे छलफल गरिएको थियो।

अनुगमनले कर्णाली प्रदेशमा सञ्चालित उद्योगहरूको वास्तविक अवस्था पहिचान गर्न, उद्योग सञ्चालनका क्रममा देखिएका समस्या बुझ्न र औद्योगिक विकासका सम्भावना खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





error: Content is protected !!