आठबीसकोटमा सातै दिन विद्यालय खुल्ने

रुकुम पश्चिम ः आठबीसकोट नगरपालिकामा सातै दिन विद्यालय खुल्ने भएको छ । शुक्रबार पूरै दिन पढाइ र शनिबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न थालिएको हो । कोरोना कहरले पारेको प्रभावलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बनाएको योजनाअनुसार अबदेखि १ सय ५५ दिन विद्यालयमा पढाइ हुनेछ । बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ को वैशाखभरि सञ्चालन हुने र २०७८ को जेठबाट अर्को शैक्षिकसत्र सञ्चालन गर्ने गरी कार्ययोजना पास भएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । नगरभित्रका ६३ वटै विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप हुने उनको भनाइ छ ।

२०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि सुरु गरेको थियो । प्रधानाध्यापकहरूले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस भएको थियो । कार्यपालिकाले उक्त प्रस्ताव पारित गरेको छ । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालन हुने नगर प्रमुख केसीले बताए । ‘कोरोना संक्रमणको कारणबाहेक अन्य कारणले पढाइ प्रभावित हुने छैन,’ उनले भने, ‘बिदाको समयमा पनि शैक्षिक र अतिरिक्त क्रियाकलाप सुरु हुनेछ ।’

कार्ययोजनामा २०७८ को वैशाखमा भर्ना अभियान पनि चलाउने र चालु शैक्षिकसत्रको बाँकी पढाइलाई पनि निरन्तरता दिने उल्लेख छ । हिमालय माविका प्रधानाध्यापक कृष्ण केसीले अर्को शैक्षिकसत्रको एक महिना चालु शैक्षिकसत्रमा गाभेर पूर्ण पठनपाठन गराउने गरी नगर कार्यपालिकाबाट कार्ययोजना पारित भएको बताए ।

यो निर्णयबाट विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक उत्साहित भएका उनको भनाइ छ । आदर्श माविका प्रअ चिन्ताराम शर्माले यो शैक्षिकसत्रको व्यवस्थापनका कार्ययोजना महत्त्वपूर्ण भएको बताए । जिल्लाका ६ स्थानीय तहमध्ये कार्ययोजना बनाएर पठनपाठन गर्ने आठबीसकोट नगरपालिका दोस्रो हो । यसअघि चौरजहारी नगरपालिकाले पनि कार्ययोजना बनाएर पठनपाठन सुरु गरेको थियो ।





error: Content is protected !!