शिवशक्ति विद्यालयको लाखौँ रकम अनियमितता

रेशम बहादुर खड्का

जाजरकोट,  भेरी नगरपालिका–९, लामाकाट्टेस्थित शिवशक्ति आधारभुत विद्यालयमा रकम हिनामिना भएको पाइएको छ । विद्यालयमा कार्यरत शिक्षक धनबहादुर डाँगीले १ लाख ३० हजार रकम हिनामिना गरेकोे वडाध्यक्ष धुर्वप्रसाद पौडेलले आरोप लगाए ।
विद्यालयका प्रधानाध्यापक धनसरा जैसी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश वलीको संयूक्त हस्ताक्षरित विज्ञप्तीमा विद्यालयका शिक्षक डाँगीले विभिन्न ६ ओटा शीर्षकको रकम हिनामिना गरेको उल्लेख गरिएको छ ।
विद्यालयको भवन निर्माण योजनाबाट वडाध्यक्षले रकम लिएको शिक्षक डाँगीले आरोप लगाएका थिए । यता विद्यालय व्यवस्थापन समितिले शिक्षक डाँगीले विभिन्न शीर्षकको रकम अनियमितता गरेको दाबी गरेको छ ।
विद्यालय सुधार कार्यक्रमको १५ हजार २०७६/०४/१३ गते विद्यालयको खाताबाट शिक्षक डाँगीले निकासा गरी हिनामिना गरेको वि.व्य.स. अध्यक्ष वलीको आरोप छ । यस्तै विद्यालयको, बुक कर्नरको २१ हजार ६ सय रुपैयाँ शिक्षक डाँगीले विद्यालयको खाताबाट मिति २०७६/०३/१६ गते निकासा गरी हिनामिना गरेको वलीले बताए ।


शिक्षक डाँगीले बालकक्षाको सहयोगीको तलव २४ हजार, लेखापरीक्षणको १० हजार रकम २०७६/०२/२३ गते विद्यालयको खाताबाट निकासा गरी विद्यालयलाई जानकारी नदिइ हिनामिना गरेको प्रधानाध्यापक धनशरा जैसीले बताइन् ।
कार्यालय सहयोगीको तलब र बालशिक्षा सहयोगीको पोषाकवापतको २० हजार रकम विद्यालयको खाताबाट मिति २०७५/०६/२१ गते निकासा गरेर हालसम्म सहयोगीहरुलाई नदिएर हिनामिना गरेको वि.व्य.स. अध्यक्ष वलीले जानकारी दिए । विद्यालयको भवन उद्घाटन र लेखापरीक्षणको ४० हजार मिति २०७६/०४/२३ गते विद्यालयको खाताबाट निकासा गरी हिनामिना गरेको समेत वलीको दाबी छ ।
‘विद्यालयको भवन उद्घाटन भएन । उद्घाटनकै लागि निकासा गरेको पैसा अहिलेसम्म विद्यालयको खातामा आएको छैन ।’ उनले भने, ‘शिक्षक डाँगीले १ लाख ३० हजार ६ सय रुपैयाँ हिनामिना गरेका छन । हामीले विद्यालय व्यवस्थापन समितिको मिति २०७६ असोज १० गते बैठक बसी कर्णाली प्रदेश सरकारबाट निर्माण भएको भवन उद्घाटन र लेखापरीक्षणको रकम असुली गर्ने निर्णय ग¥यौँ ।’
उद्घाटनको लागि २५ हजार र लेखापरीक्षणको लागि १५ हजार रकम शिक्षक डाँगीको नामबाट निकासा भइ हिनामिना भएको थियो । उक्त रकम असुली गरी विद्यालयको खातामा जम्मा गर्ने निर्णय भएपनि अहिलेसम्म शिक्षकले बेवास्ता गर्दै आएको बताइएको छ । ‘हामीले उहाँका धेरै गल्ती ढाकछोप गरेका छौँ । समितिको निर्णयसमेत अटेरी गर्नुभयो ।’ वलीले भने, ‘उल्टै हाम्रो विरुद्धमा मिडियाबाजीतिर उहाँ दौडिनुएको सुन्नमा आएको छ ।’
गत फागुनमा मात्र शिक्षक डाँगीले हिनामिना गरेको रकम असुलीको लागि नगरपालिकाबाट सम्पूर्ण सेवासुविधा रोक्काको लागि निवेदन दिएर खाता रोक्का गरेको समितिका अध्यक्ष वलीले बताए । शिक्षकलाई विद्यालयको रकमका विषयमा कुरा गर्दा सम्पर्कबिहिन भएको वलीको भनाइ छ ।
विद्यालयमा कार्यरत कार्यालय सहयोगी देविलाल पौडेलको पोषक भत्ता लगाएत तलबको पैसा हिनामिना गर्दा अहिलेसम्म पैसा नपाएको कार्यालय सहयोगी पौडेलले बताए । विद्यालयका शिक्षकले पैसा दिन्छु भन्दै आएपनि अहिलेसम्म कुनै रकम विद्यालयको खातामा नआएको विद्यालय स्रोतको दाबी छ ।
यस्तै विद्यालयको विभिन्न शीर्षकको रकम शिक्षक धन बहादुर डाँगीले जम्मा नगरेपछि २०७६÷०६÷०३ गते बसेको बैठकले डाँगीको तलबबाट पैसा काटेर विद्यालयको रकम असुली गर्ने निर्णय गरेको छ ।
नेपाल बैंक लिमिटेड जाजरकोटमा रहेको शिवशक्ति आधारभुत विद्यालयको ०७५००१०११८४५३०००००१ नम्बरको खाताबाट विभिन्न मितिमा डाँगीले रकम अनियमितता गरेकोले उनको तलबबाट असुलिको लागि रु ६५ हजार २ सय ६५ रुपैयाँ विद्यालयको खातामा जम्मा गर्ने निर्णयसमेत भएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष वलीले बताए ।
विद्यालयको भवन निर्माणमा वडा अध्यक्षले आफुबाट घुस लिएको भन्दै पूर्व प्रधानाध्यापक समेत रहेका धन बहादुर डाँगी जिल्लाका सञ्चारमाध्यम गुहार्दै खलंगामा आएका छन् । डाँगीले वडाध्यक्षलाई आरोप लगाएपनि डाँगीले नै रकम हिनामिना गरेको विद्यालयले बिहिवार एक प्रेस विज्ञप्ती जारी गरेको छ । जो चोर उस्कै ठुलो स्वर भने जस्तै आफै विद्यालयको रकम हिनामिना गरेको वडाअध्यक्ष धुर्वप्रसाद पौडेलले बताए । शिक्षकले आफुलाई आरोप लगाए पनि आफैले रकमको हिनामिना गरेको पुष्टि भएको पौडेलले बताए ।
औषधी उपचारको लागि विद्यालयबाट ५५ हजार सापटी लिएको तर विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई बुझाएको पौडेलको दाबी छ । ‘म बिरामी भएको बेला विद्यालयबाट पैसा लिएको हुँ ।’ उनले भने, ‘काठमाडौँ गएर उपचारपछि प्रअ र अध्यक्षको रोहवरमा १५ दिनपछि विद्यालयको ५५ हजारनै फिर्ता दिएको छु । विद्यालय पठनपाठन गराउने समयमा शिक्षक मदिरा सेवन गरेर आउने ? विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोज्ने ?’
उल्टै अनावश्यक आरोप लगाउनु राम्रो नहुने वडाअध्यक्ष पौडेलले बताए । विद्यालय भवन आयोजनाबाट आफुले रकम नलिएको बताउँदै उनले विद्यालयबाट सापटी लिएर फिर्ता गरिसकेको दाबी गरे ।

 

छानविनको लागि स्थानीय सरकार गुहार्दै
उता विद्यालयका शिक्षक धन बहादुर डाँगीले वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा आर्थिक रकम हिनामिा भएको आरोप लगाएका छन् । वडाध्यक्ष पौडेलले विद्यालयको भवन बनाउनको लागि दौडधुप गरेको भन्दै पैसा मागेको डाँगीको दाबी छ । ‘विद्यालयको रकम वडाध्यक्षले हिनामिना गरेका छन् । वडाअध्यक्ष धुर्वप्रसाद पौडेलले म बाट ५५ हजार घुस लिएका हुन ।’ उनले भने, ‘आव २०७५÷०७६ मा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको २० लाख अनुदानमा बनेको दुई कोठे विद्यालय भवनबाट उक्त रकम लिएका छन् ।’ विद्यालय भवन योजना पार्न दौडधुप गरेबापत अध्यक्ष पौडेलले आफुबाट उक्त रकम लिएको शिक्षक डाँगीको दाबी छ ।
‘वडाध्यक्षले आफै घुस लिने तर, विद्यालयको सार्वजनिक परीक्षणमा विव्यस र अविभावकलाई हातमा लिएर मेरो नाममा बेरुजु निकाल्ने ?’ उनले भने, ‘मलाई प्रअबाट हटाउनुको साथै मेरो खाता रोक्का गरिएको छ, १० महिनाको तलब पनि खान पाएको छैन ।’
वडाअध्यक्षले आफुलाई अन्याय गरेकोले नगरपालिकामा लिखित उजुरी दिएको डाँगीको भनाइ छ । विद्यालयबाट वडाध्यक्ष पौडेलले लिएको पैसा वि.व्य.स. लाई दिएको बताएपनि खातामा भने पैसा नदेखिएको शिक्षक डाँगीको आरोप छ ।
उता भेरी नगरपालिकाले विद्यालयलको लिखित उजुरी आएको जनाएको छ । शिक्षक धन बहादुर डाँगीले विद्यालयको रकम वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिले हिनामिना गरेको भन्दै उजुरी दिएको नगरपालिका स्रोतले जनाएको छ ।
शिक्षक डाँगीले नगरपालिकामा न्याय पाउँ भनी निवेदन दिएको शिक्षा शाखा प्रमुख अमृत पुनले बताए । ‘डाँगीले आफ्नो तलबको विषयलाई लिएर न्याय पाउ भनी निवेदन दिएका छन् ।’ उनले भने, ‘नगर प्रमुख उपस्थीति नभएका कारण शिक्षा समितिको बैठक बसेको छैन । हामी शिक्षा समितिमा उक्त विषय लिएर पेश गर्छौँ ।’ उजुरीलाई शिक्षा समितिमार्फत आर्थिक छानबिनको लागि न्यायिक समितिमा पठाउने शाखा प्रमुख पुनले बताए ।
शिवशक्ति आधारभुत विद्यालय लामाकाट्टेमा आव २०७५÷०७६ मा भेरी नगरपालिकाको २५ लाख अनुदानमा आरसिसी पिलर र ढलान सहितको चार कोठे भवन बनेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको २० लाख अनुदानमा दुई कोठे ट्रष्ट निर्माण भएको हो । मन्त्रालयको अनुदानमा अग्रिम आयकर र बहालकर कट्टी गरेर विद्यालयलाई १९ लाख ७० हजार भुक्तानी दिएको मन्त्रालयले जनाएको छ । भेरी नगरपालिका–९ का वडाध्यक्ष धुर्वप्रसाद पौडेलले विद्यालय भवन निर्माण आयोजनाबाट ५५ हजार घुस खाएको भन्ने आरोपको बिहीवार खण्डन गरेका थिए ।





error: Content is protected !!