चौरजहारी नगरपालिकाद्वारा ६ वटा अवैध मेडिकल बन्द

रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाले मापदण्डविपरीत सञ्चालन भएका मेडिकलहरू बन्द गराएको छ । नगरपालिकामा सञ्चालन भएका मेडिकलको अनुगमन भइरहेको र अहिलेसम्म ६ वटा मेडिकल मापदण्डविपरीत सञ्चालन भएको भेटिएपछि बन्द गरेको नगरपालिकाले जनाएको छ ।

दर्ता नभएका, सञ्चालन अनुमति नभएका, मेडिकल काउन्सिलमा दर्ता नभएका कर्मचारीलाई काममा राखेका र नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले सञ्चालन गरेका मेडिकललाई कारबाही गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए ।

पटक–पटक गरिएको आग्रहलाई बेवास्ता गर्दै वडा नं- २, ६, ७ र ११ मा नियमविपरीत सञ्चालन भएका ६ वटा मेडिकल बन्द गरिएको र अनुगमन जारी रहेकाले मापदण्डविपरीत सञ्चालन भएको भेटिएमा अन्य मेडिकललाई पनि बन्द गरिने उनले बताए ।

बन्द हुने मेडिकलमा पाँचवटा नामविनै सञ्चालन भइरहेका परेका छन् । नगरपालिकाको वडा ५ को स्वास्थ्य चौकीमा कार्यरत ममता खड्काले वडा नं। ७ मा सञ्चालन गरेको, वडा नं। ७ मै यमुना अधिकारीले सञ्चालन गरेको र वडा नं। २ मा यज्ञ बस्नेतले सञ्चालन गरेको मेडिकल नगरपालिकाले बिहीबार बन्द गरेको हो ।

शुक्रबार वडा नं- ७ नार्जीमा मानबहादुर कुमाल, वडा नं। ६ शान्तिबजारमा निर्मला ओली र वडा नं। ११ मा धनीराम पुनले सञ्चालन गरेको मेडिकल बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका कुनै पनि ठाउँमा मापदण्डविपरीत सञ्चालन भएको भेटिएमा बन्द गरिने नगरपालिकाले जनाएको छ । मापदण्ड पूरा नगरी मेडिकल सञ्चालन गरेर नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड गर्न कसैलाई छुट नभएको भन्दै नगरपालिकाले अवैध मेडिकललाई बन्द गर्न थालेको जनाएको छ ।

चौरजहारी नगरपालिका अवैध मेडिकल बन्द गर्ने जिल्लाको पहिलो स्थानीय तह हो । अन्य स्थानीय तहहरूले मेडिकल तथा औषधिजन्य पसलहरूको अनुगमन गर्ने गरे पनि बन्द भने गराएका छैनन् ।





error: Content is protected !!