डोल्पा संमृद्धीको यात्रा ः आहा ठाउँहरु विकासको मूलधारमा कहिले आउने ?

हेमन्त केसी
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा ! प्रकृतिक रुपमा जती सुन्दर छ , त्यतिकै रुपमा यहाँको बसाइँ निकै कठिन पनि छ । छिमेकी मूलक चीनसँग सिमाना जोडिएको डोल्पा भूगोलका हिसावले नेपालकै ठुलो जिल्ला हो । उत्पादनका हिसावले निकै कम र बढी खाद्यान्न आर्यात गर्ने मध्यमा डोल्पा नै पर्दछ । प्रकृतिक रुपमा पाइने औषधि र जडीवुटीको भण्डारको रुपमा स्थापित यो जिल्लाका सर्वसाधारणहरु हिउँदमा गाउँ , ठाउँ नै छाडेर तल्लो भेगमा चिसोबाट ज्यान जोगाउन झर्ने गर्दछन् भने चैत महीना देखि बर्षायाममा उपल्लो डोल्पा विताउँछन् । भूगोलमा हिसावले उपल्लो डोल्पा , मध्यडोल्पा र तल्लो डोल्पा गरी तीन भागमा विभाजन गरिएको छ ।

यहाँका सवै प्रशासकीय केन्द्रहरु मध्य डोल्पामा पर्दछन् । उपल्लो डोल्पामा चिसो भुभाग मात्र होइन, आम्दानीको हिसावले बहुमुल्य यार्सागुम्वा देखि भारी जडीवुटीहरुको भण्डार नै रहेको छ । पर्यटकीय गन्तव्यका हिसावले उपल्लो डोल्पा नै आर्कषणको केन्द्र विन्दु मानिन्छ । शे फोक्सुण्डो ताल देखि निकुन्जको अधिकांश भाग उपल्लो डोल्पामा पर्दछ । झट्ट हेर्दा दुनियाँको आँखामा आहा देखिने सेताम्य हिमालहरु पनि उपल्लो डोल्पामा नै पर्दछन् । भोट क्षेत्र रुपमा पनि परिचित उपल्लो डोल्पामा अधिकांश जनजाती समुदायका वुद्ध धर्म मान्ने समुदायको बसोबास रहेको छ । पुस्ताँै पुराना गुम्वा र प्राचिन महत्वका मुर्तीहरुले उपल्लो डोल्पाको खास पहिचान दिलाउने गर्दछ ।


सवै ठाउँमा सञ्चार सुविधा नभएको उपल्लो डोल्पामा अझै पनि कटुवाल प्रथा जस्तो वैकल्पिक माध्यमबाट एक ठाउँबाट , अर्को ठाउँमा खवर आदान प्रदान गरिदै आएको जनप्रतिनिधिको गूनासो छ । जती गूनासो गरेपनि हाम्रो पीडा कसैले सुन्दैनन् , बोलेर मुख मात्र दुखाउनु शे फोक्सुण्डो गाउँपालिका – ४ ई गुरुङले दुखेसो पोख्नुभयो ।


देशका अधिकांश ठाउँमा सडक सञ्जालले छोयो , हाम्रो उपल्लो डोल्पामा भने अझै कुम , टाउको , पिठ्यू र पशुचौपायको मदतले ज्यान बचाउने माध्यम बनेको छ उहाँको गूनासो छ । भारत जस्तो खुल्ला सिमाना चीनमा भएको भए उपल्लो डोल्पामा व्यापार देखि अन्य सामग्रीहरु आयात गर्न खासै मुस्किल हुँदैन्थ्यो , तर भिसा नलगाएर चीन तर्फ जाने सपना नदेखे हुन्छ गुरुङले भन्नुभयो । सदरमुकाम दुनैमा समेत मुस्किलले आएका केही हलुका सवारीसाधन मार्फत उपल्लो डोल्पामा घोडा, खच्चड , चौरी र याक मार्फत सामग्री ढुवानी गरि लिने गरिन्छ । केही स्थानीयवासीहरुले आफ्नो क्षमता अनुुसारको बोकेर लिने गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

देख्दा आहा , बसाइँ कठिन ?

बाह्र महीना आफ्नै घरमा बस्ने कसलाइ पो रहर हुँदैन र ? तर उपल्लो डोल्पाका अधिकांश सर्वसाधारणहरु बाह्रै महीना उपल्लो डोल्पा ( आफ्नो घर) बस्न पाउँदैनन् । चिसो मौसम हुँन साथ घर , आँगन नै पुरिने गरी हिमपात सुरु हुँने भएकाले आफूहरु तल्लो क्षेत्र झर्ने गरेको डोल्पोवुद्ध गाउँपालिका –६ का सालिम लामाले बताउनुभयो । उहाँले भन्नुभयो , “ चिसो छल्ने बहानामा बर्षायाममा संकलन गरिएका जडीवुटीको व्यापार देखि खाद्यान्न जम्मा गर्ने समय बचन गरिरहेको छौँ । हामीसँग अरु विकल्प पनि त छैन् । ”


विरामी हुँदा सिटामोल सम्म नपाइने हाम्रो ठाउँमा पहुँच , धन पैसा भएको व्यक्तिले हेलिकोप्टर उडाएर ज्यान बचाउँछन् , पहुँच र धन नहुँने मानिस मृत्यु कुरेरै बस्नु पर्ने बाध्यता भएको अर्का स्थानीयवासी धावन गुरुङले पीडा पोख्नुभयो । उपल्लो डोल्पाको सवै ठाउँमा फोनको नेटवर्क हुँदैन , विरामी भएमा स्थानीय लामालाइ ल्याएर जंगली जडीवुटीको भरमा उपचार गर्नु उपल्लो डोल्पाको अर्को विकल्प भएको गुरुङले दुखेसो छ । तीन स्थानीय तह उपल्लो डोल्पामा रहेका छन् ।

भित्री डोल्पामा एक स्थानीय तह रहेको छ ।  उपल्लो डोल्पा क्याराभान चलचित्रका कारण विश्वमै चर्चित भएको र यसका नायक थिन्ले लुण्डुप लामा विश्वकै नायकका रुपमा चिनिएका थिए । डोल्पाको विकास नभई नेपालको विकास नहुने भएकाले आकर्षक उपल्लो डोल्पाको विकास गरेर सुन्दर पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकारले नारा मात्र लगाउने होईन , काम पनि गर्नुपर्छ डोल्पाकी सांसद सत्य पहाडीले बताउनुभयो ।

साविक जुम्ला जिल्लाको तिब्रीकोट दराको रुपगाड, सुलीगाड खोलादेखि पूर्वतर्फका २२ गाउँको क्षेत्र साविक रहेको छ ।  बाग्लुङ जिल्लाको आठहजार पर्वतका ९ गाउँको क्षेत्र र २९ गाउँको छार्का भोट क्षेत्र गरी बनेको डोल्पा जिल्लाको सम्पूर्ण क्षेत्रफलको ७५०० छार्का भोट साढे दश थपौलाले ओगटेको छ । यस क्षेत्रलाई १२ डाली ल्हागु पनि भनिन्छ ।
स्थानीय भाषामा यस क्षेत्रलाई त्होल्भो भनिन्छ जसको अर्थ पहिरो जस्तो चारैतर्फबाट मानिस जम्मा हुनु हो । वि.सं.२०१७ साल भन्दा पहिले स्वदेशी तथा विदेशी लेखकहरुले निकालेका लेख, पुस्तक र नक्शाहरुमा त्होल्भोको सट्टा डोल्पो (उच्चारण, बुझाइ र लेखाइमा फरक पर्न गएकोले) उल्लेख गरेको पाइन्छ । यसैका आधारबाट वि.सं. २०१८ सालमा जिल्ला कायम हुँदा यस जिल्लाको नाम डोल्पो रहेको थियो । यही नाम परिवर्तन हुन गई हाल यस जिल्लालाई डोल्पा नामले चिनिन्छ ।
मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत कर्णाली अञ्चलमा पर्ने डोल्पा जिल्ला भौगोलिक विशालता, सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटन व्यवसायको प्रचुरता र जैविक विविधतामा सम्पन्नताले सजिएको अनुपम स्थल हो । समुद्र सतहबाट १५२५ देखि ७७५४ मिटर उचाई रहेको डोल्पा जिल्ला फोक्सुण्डो ताल, फोक्सुण्डो , राष्ट्रिय निकुञ्ज, सुलिगाड झरना, विश्वको सर्वाधिक उचाईमा रहेको मानब बस्ति छार्का भोट, दुर्लभ काईके भाषा लगायत अनेकन बहुमूल्य जडिबुटीहरु समेत पाईन्छ । डोल्पा जिल्लामा साविकका २३ गाविस थिए ।

यहाँका मानिसको कृषि प्रमुख व्यवसाय हो । गाई वस्तु , भेडा वाखा्र पाल्नु तथा खेतीपातीमा निर्भर रहनु यहाँको दिनचर्या जस्तै हुन्छ ।  हिमाली भेगमा जडीवुटीको प्रशस्त संभावना भएको हुनाले वैशाख जेठ जस्तो गर्मी समयमा गाउँका वलिया र अनुभवी युवाहरु अग्ला अग्ला पहाडमा यार्सागुम्वा टिप्न जाने गर्दछन् । यार्सागुम्वाको अन्र्तराष्ट्रिय वजारमा राम्रो मुल्य भएकोले यहाँको मानिसको यो सामान्य आयको माध्यम यार्सागुम्वा नै हो । यसरी टिपेको यार्सागुम्वा तिव्वती व्यापारीहरु मार्फत चीनतिर लिने गरिन्छ । यार्सागुम्वा झण्डै ४ हजार मिटर भन्दा माथिका पहाडहरुमा मात्र पाईने भएकोले थुप्रै चुनौतीहरुलाई स्वीकार्दै त्यहाँ जानुपर्ने बाध्यता यहाँका स्थानीयवासीहरुको रहेको छ ।


धेरै अग्ला हिमालमा अक्सिजनको कमी हुने भएकोले कतिपय मानिसलाई लेक लाग्ने संभावना भएकाले त्यहाँ स्थानीय जडीवुटी साथमा लिएर संकलन गर्ने यहाँका स्थानीयवासीहरु बताउँछन् । लगातार हिउँ परिरहने र गर्मी यामका एक दुई महिना मात्र हिउँ पग्लने भएकोले उपल्लो डोल्पाका पहाडहरुमा बोटविरुवा कम हुँने गर्दछन् । रुख , विरुवा नभएका अग्लो हिमालमा यात्रा गर्दा लडेर मृत्यु हुँने दर उच्च रहेको सर्वसाधारणको भनाई छ । चिसो मौसममा उपल्लो डोल्पाका प्रहरी चौकीहरु समेत सदरमुकाम दुनैमा सार्ने गरिदै आएको छ ।


माथिल्लो भेगमा वस्ने मानिसद्धारा जंगली जनावरहरुको अवैध चोरी शिकारी अत्यधिक मात्रा हुँने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।  विकासको दृष्टिकोणले हेर्ने हो भने डोल्पा अत्यन्त पछाडि रहेको स्पष्ट देख्निछ । जुफाल विमानस्थल र जैरीघाट साना जलविद्युत आयोजना वाहेक अन्य अर्थपूर्ण भौतिक संरचनाहरु डोल्पामा छैनन् । जैरीघाट साना जलविद्युत आयोजनाले भने जिल्ला सदरमुकाम र जुफाललाई विद्युत आपूतिं गरिरहेको छ ।

विकासको नाममा यहाँ कैयन सरकारी तथा गैरसरकारी संस्थावाट पहलहरु भएका छन् । तर यस्ता पहलहरुलाई एकीकृत अभियानको रुपमा अगाडि बढाए मात्र यहाँको समग्र विकासमा टेवा पुग्ने तर्क अधिकांश सर्वसाधारणहरुको छ ।  डोल्पामा बाह्रै महीना यातायको साधनहरु आवतजावत भएमा मात्र यहाँको सवै नागरिकको बाहिर दुनियाँ सँग सम्पर्क हुँने डोल्पाको पहिलो सर्त हो ।

नेपालकै सवैभन्दा ठूलो जिल्ला भएको र हिमाली भेगमा स्याउको लागि अनुकुल हावापानी भएकोले यो क्षेत्रमा स्याउ उत्पादनको प्रचुर संभावना रहेको छ । वजारको संभावना नभएकोले यस्ता स्याउको अहिले केही पनि मुल्य नपाएको स्थानीयको पीडा छ । यहाँ जव पक्की मोटरवाटो निर्माण गर्न सकिनेछ तव डोल्पाले नेपालकै अर्थतन्त्रमा राम्रो भूमिका खेल्ने निश्चित छ ।

से–फोक्सुन्डो ताललाई गन्तव्य बनाएर डोल्पाको पर्यटन विकासलाई थप विकास गर्न सकिने विज्ञको तर्क छ । जीवविहीन यो ताललाई हरियो र नीलो रंगको अनुपम मिश्रणले रंगाएको ताल फोक्सुण्डो ताल हो । आकाशमा सूर्यको स्थानसँगै रंग फेर्ने फोक्सुन्डोको कञ्चन पानीलाई नाङ्गा हिमालहरूले फोक्सुण्डोलाई पहरा दिइरहेका हुन्छन् । एउटा प्रचलित किंवदन्तीअनुसार यो तालभित्र प्राचीन गाउँको अवशेष देखिन्छ । से फोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो ।

से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा यो ताल र से गुम्बा छ । उपल्लो डोल्पामा पर्ने से गुम्बा विश्वका प्रमुख १२ बौद्ध गुम्बामध्ये एक मानिन्छ । विष्णुप्रसाद शर्मा पराजुलीले आफ्नो पुस्तक डोल्पो , विश्वको जीवित सङ्ग्रहालयमा समेत डोल्पाको व्यख्या गरिएको छ ।  डोल्पाबारे जनकलाल शर्माले २०३१ सालमै ‘कौतुकमय डोल्पो’ र घटराज भट्टराईले २०३९ सालमा ‘डोल्पाकी छोटी’ लेखिसकेका छन्, तर दुई वर्षअघि ‘तिब्बत यात्रा’ लेखिसकेका पराजुलीको यो ‘डोल्पो’ नेपाली साहित्यमा डोल्पाकेन्द्रित पहिलो यात्रानिबन्ध हो। माथिल्लो डोल्पाको अनुपम सौन्दर्यलाई विदेशीले पनि यात्रा र कृतिमा समेटिसकेका छन्।

जसरी से–गुम्बा, थोसाङ गुम्बा, से–फोक्सुन्डो ताल, नीलो भेडा, नीला सल्ला, हिमचितुवा, कस्तुरी, मृगले यो क्षेत्रको नेपालको प्रतिनिधित्व गर्छन्, त्यसरी नै यस्ता संस्कृतिले हाम्रो समाजको विकास र उच्च सभ्यताको चिनारी दिने सांसद पहाडीको तर्क छ । संस्कृति र परम्परामात्र होइन, प्रकृति र प्राकृतिक स्रोतबारेको विषयलाई पनि उत्तिकै सशक्त ढंगले उठाउन सके डोल्पाको विकास र संमृद्धीमा थप टेवा पुग्ने पहाडीको भनाई छ ।





error: Content is protected !!