गरिबको पीडा ः छाक टार्न गिट्टीको सहारा

हेमन्त केसी

, जाजरकोट, (रासस) उमेरले ७१ वर्ष नाँघ्नुभएकी रुकुम पश्चिम आठबीसकोट नगरपालिका–११ की रामकुमारी पुन ‘लकडाउन’ कै बीचमा सडकमा हुनुहुन्छ । फुलेको कपालसँगै बढ्यौली पनले चाउरी परेको शरीरलाई जबर्जस्ती दैनिक छाक टार्न रामकुमारी सडकको किनारामा रहेका गिट्टीसँग पौठेजोरी खोजिरहनुभएको छ ।

उहाँका दुई भाइ र छोरा कमाइ गर्न भारतको गडुवालमा हुनुहुन्छ । लकडाउनका कारण छोरा आउन नपाएपछि नाति र बुहारीका साथ उहाँ सडकमा गिट्टी कुट्न बाध्य हुनुभएको हो । उहाँले भन्नुभयो, “पेटले दुःख दिएको नानी रु भोको पेटमा बस्न सकिँदैन । बाँच्नका लागि बूढेसकालमा सडकमा छु । शुरुका दिनमा गाडी धेरै गुड्दा धुवाँले गिट्टी कुट्न समस्या थियो अहिले गाडी चल्दैनन् ढुक्कका साथ काम गर्न पाइएको छ ।” आफ्नो बारीमा उत्पादन भएको अन्नले तीन महिना मात्र खाना पुग्ने बताउँदै पुनले वर्षेनी पेट पाल्नका लागि अर्काको कामदेखि गिट्टी कुट्ने गरेको बताउनुभयो । “गरिबीका कारण छोरा पढाउन सकिएन । अब नाति, नतिना पढाउने धोको छ”, यहाँले भन्नुभयो ।

उहाँ जस्तै आधा घण्टाको दूरीमा जाजरकोट–डोल्पा सडकखण्डको रिटामा भेटिनुभएकी पानसरी पुनले पनि एक हप्तादेखि सडकमै रहेको बताउनुभयो । उहाँका श्रीमान् दुई वर्षअघि रोजगारीका सिलसिलामा भारत भएको समयमा जम्मु कास्मिरमा मृत्यु भएको थियो । तीन छोरा, छोरीकी आमासमेत रहेकी ३६ वर्षीय पानसरीको घरमा खानाका लागि अन्न नपाएपछि गिट्टी कुट्न आएकी हुन् । घरमा आर्थिक जोहो गर्न मुस्किल भएपछि विद्यालयमा पढ्दा पढ्दै पानसरीले आफ्नो जेठो छोरा कालीबहादुर पुनलाई १४ वर्षको उमेरमा भारतमा कमाइका लागि पठाउनुभएको छ । आफ्नो श्रीमान् खाने भूमिमा बाध्यताले छोरोलाई कमाइका लागि पठाएको उहाँको भनाइ छ ।

पानसरी हप्तामा दुई पटक छोरासँग फोनमा कुरा गर्नुहुन्छ । छोराको हालखबर अनि कमाइको बारेमा जानकारी लिने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो छोराको उमेरमा सबै विद्यालय जान्छन् तर मेरो छोरा भारतमा कमाइ गर्न गएको छ रु मेरो मन रोएर आउँछ तर के गरौँ पापी पेटले गर्नुगरेको छ ।” सडकमा काम गर्ने उहाँहरु त प्रतिनिधिमूलक पात्र मात्र हुनुहुन्छ । अहिले लकडाउनको समयमा पनि जाजरकोट–डोल्पा सडकखण्डदेखि जाजरकोट सदरमुकाम हुँदै जुम्ला जोड्ने सडक अनि मध्यपहाडी लोकमार्गमा दर्जनाँै स्थानीयवासी गिट्टीको सहारामा बाँचिरहेका छन् ।

प्रतिबोरा रु ४० मा बिक्री हुने गरेको गिट्टी यहाँका अधिकांश निम्न वर्गका मानिसको जीवन जिउने आधारसमेत भएको छ । गाउँमा हुनेखानेको जमिनमा गहुँ पाकेको छ । कतै मकै रोप्ने तयारीसमेत भइरहेको छ । निम्न वर्गका मानिस उनीहरुकै जग्गामा मकै रोप्नेदेखि गहुँ काटेर भित्र्याउने काममा सहयोग गरिरहेको समेत पाइएको छ । मकै रोप्नका लागि गोरु नभएकाले साहुको काम गरेर कमाएको पैसाले दैनिक ज्यालामा गोरु किनेर मकै राप्ने काम समेत भएको नलगाड नगरपालिका–७ काँडादल्लीका प्रताप गिरीले बताउनुभयो । प्रतिदिन गोरुको सहायताले जग्गा जोत्दा रु दुई हजार लिने भएकाले गोरु प्रयोग गरी मकै रोप्नसमेत समस्या भएको छ ।

मकैको बीउ स्थानीय सरकार तथा कृषि शाखाले उपलबध नगराउँदा कृषकहरु बीउको अभावमा समेत हैरान भएको गिरीले बताउनुभयो । काम गर्नका लागि गाउँमा विकास निर्माणका कामहरु लकडाउनका कारण ठप्प भएपछि सबैभन्दा निम्न वर्गका मानिसमा समस्या परेको छ । उधारो खाद्यान्न साहुले नदिने भएकाले थप गरिब परिवारलाई खाद्यान्न जोहो गर्न मुस्किल भएको हो ।

खाद्यान्नको जोहो गर्नकै लागि पनि अर्काको जमिन जोत्ने कामदेखि गिट्टीको काम गर्नु रहर नभई बाध्यता भएको उनीहरुको तर्क छ । स्थानीय सरकारको उपलब्ध गराएको एक बोरा २५ केजीको चामल सकिएकाले थप खाद्यान्नका लागि सडकमै आएर मजदुरी गर्नुको विकल्प नभएको पीडित बताउँछन् ।

हुनेखानेहरु प्रत्येक छाकमा पौष्टिक तत्वसहितको खाना खान्छन् । यता गरिबीको रेखामुनि रहेका नागरिक भने सुक्खा रोटी पाउनसमेत मुस्किल भएको बताइरहेका छन् । आधा पेट खाएर पनि दैनिक गिट्टी कुट्नुपरेको उनीहरुको भनाइ छ । दैनिक सडकमा ५० भन्दा बढी सर्वसाधारण गिट्टी कुट्ने काममा लागिरहेको देख्न सकिन्छ ।





error: Content is protected !!