किमको स्वास्थ्यबारे ‘अफवाह’ बीच उत्तर कोरियामा उत्तराधिकारीको चर्चा

केली कासुलिस
उत्तर कोरियाली नेता किम जोङ उन अन्तिम पटक अप्रिल ११ मा एक महत्त्वपूर्ण राजनीतिक बैठकमा देखिएका थिए । तर, त्यसयता उनी देशको राष्ट्रिय मिडियाको कभरेजबाट गायब छन् । देशको सबैभन्दा महत्त्वपूर्ण वार्षिक कार्यक्रममा उनी उपस्थित नभएपछि, उनको स्वास्थ्यस्थितिलाई लिएर थप आशंकाहरु पैदा भएको छ ।

किम उमेरको हिसाबले ३६ वर्षको मात्र भएको मानिए पनि मोटोपना र धुम्रपानको लतको कारण धेरै अघिदेखि उनको स्वास्थ्यस्थिति राम्रो नरहेको बताइँदै आएको थियो ।

पछिल्लो समय उनको स्वास्थ्य अवस्थाबारेका ‘अफवाह’हरु झनै चिन्ताजनक छन् । दक्षिण कोरियाको सोलस्थित एक सञ्चारमाध्यमले बेनामी स्रोतलाई उल्लेख गर्दै उत्तर कोरियाली नेता मुटुको शल्यक्रियापछि गम्भीर अवस्थामा रहेको बताएपछि विभिन्न अफवाहहरु डढेला जस्तै फैलियो ।

उत्तर कोरियामा विकसित पछिल्लो घटनाक्रमले पनि किम सम्भवतः बिरामी रहेको नै देखाउँछ । तर, उनको स्वास्थ्य अवस्था कतिसम्म खराब छ भन्ने प्रश्न अनुत्तरित रहेको छ ।

‘मलाई लाग्छ उनी कुनै रोगबाट ठीक हुने प्रक्रियामा रहेका छन्,’ उत्तर कोरियाबारे अनुसन्धान गर्ने हवाई विश्वविद्यालयका प्राध्यापक छिह्युङ ह्यारिसन किम भन्छन्, ‘उनको स्वास्थ्यबारे जहिले पनि प्रश्न उठ्ने गरेकै थियो, उनले कुनै उपचार गराइरहेका होलान् । पछिल्लो दुई हप्तामा उनलाई सार्वजनिकरुपमा देखिएको रिपोर्टहरु पनि आएका छन् । विशेष गरेर किम जोङ उनले केही परियोजनाहरुको अनुगमन गरेको समाचारहरु आएका छन् ।’

उत्तर कोरियाको अर्थतन्त्रबारे अनुसन्धान गरिरहेका र एनके न्युज वेबसाइटका स्तम्भकार रहेका पिटर वार्ड पनि किम गम्भीर बिरामी परेको संकेतहरु कमै देखिएको बताउँछन् ।

‘मलाई लाग्छ उनी बिरामी त छन् तर कति गम्भीर म भन्न सक्दिनँ,’ वार्ड भन्छन्, ‘तर, अवस्था निकै गम्भीर रहेको संकेतहरु पनि देखिएका छैनन् । यदी त्यस्तो भएको भए हामीले भू–उपग्रहबाट त्यहाँ धेरै चहलपहल देख्नेथियौँ । देश आपत्कालको स्थितिमा हुन्थ्यो । तर, त्यस्तो केही देखिएको छैन ।’

केही त पक्कै पनि गलत छ भन्ने प्रमाणहरु पनि छन् । किनभने किम जोङ उन गत अप्रिल १५ मा उनको हजुरबुबाको जन्मजयन्ती मनाउने महत्त्वपूर्ण वार्षिक कार्यक्रममा उपस्थित थिएनन् ।

संकेतहरु अध्ययन गरिदै

भूउपग्रहको तस्विरमा किमको परिवारको निजी स्टेसन मानिने वोनसानस्थित रिसोर्टमा एउटा रेल देखिएको थियो । स्टिमसन सेन्टर ३८ नर्थ वेबसाइटका अनुसार उक्त रेल त्यहाँ बुधबार फेरि देखिएको थियो । रोयटर्स समाचार एजेन्सीका अनुसार चीनबाट पनि डाक्टरहरु उत्तर कोरिया पठाइएको छ ।

‘उत्तर कोरियाको नेतृत्वबारेका अफवाहहरुबारे हामीले जहिले पनि सन्देहको दृष्टिकोणले हेर्नुपर्छ,’ सोलस्थित इव्हा वुमन्स युनिभर्सिटीकी प्राध्यापक लेइफ एरिक इस्ले भन्छन्, ‘उत्तर कोरियाको दरबार राजनीतिबारे रिपोर्टहरु प्रायः गलत वा आशिंक सत्यमात्र हुन्छन् ।’

यति हुँदा पनि किम जोङ उनको स्वास्थ्य स्थितिबारेको अन्यौलताले उत्तर कोरियाको नेतृत्व गर्ने उत्तराधिकारीको बारेमा पनि चर्चा सुरु भएको छ । विज्ञहरुले किमको आकस्मिक निधन कोरियाली प्रायद्वीपका लागि अनर्थकारी हुने चेतावनी दिएका छन् ।

‘संक्रमणकालिन अवस्थामा सत्ताको हस्तान्तरण कसरी हुन्छ भन्ने हामीलाई थाहा छैन । यो अवस्थालाई सबैको लागि चिन्ताजनक हो,’ एनके न्युजका वार्ड भन्छन् ।

सन् २०११ मा उनको पिता तथा उत्तर कोरियाका नेता किम जोङ इलको हृदयघातबाट निधन भएपछि किम जोङ उनले मात्र ३२ वर्षको उमेरमा सत्ता सम्हालेका थिए । यो आकस्मिक भए पनि धेरै जना आश्चर्यचकित थिएनन् । किनभने किम जोङ इला लामो समयदेखि अस्वस्थ थिए र ७० वर्षको उमेरमा उनी प्रायः निस्क्रिय नै थिए । किम जोन उनले धेरै पटक सत्ताको बागडोर सम्हाल्ने संकेत दिइसकेका थिए ।

तर, यदि किम जोङ उनको आकस्मिक निधन भयो भने उत्तराधिकारी को बन्ला भन्ने स्पष्ट छैन । अहिलेसम्म किम जोङ उन र उनकी पत्नी रि सोल जुको सन्तान छ कि छैन भन्ने पनि यकिन छैन । त्यही भएर सबैको ध्यान किमको बहिनीमाथि रहेको छ ।

‘मलाई लाग्छ किमकी बहिनी किम यो जोङ सम्भवतः नयाँ राष्ट्रप्रमुख बन्ने छिन्,’ हवाई विश्वविद्यलायका ह्यारिसन किम भन्छन्, ‘तर, मलाई लाग्छ यो अवस्थामा शक्ति पहिलो जस्तो एक ठाउँमा केन्द्रीत हुनेछैन । हामीले बहुलवादी नेतृत्वको अभ्यास देख्न सक्छौँ । जसमा किम यो जोङ प्रतीकात्मक राष्ट्रप्रमुख रहने र पर्दा पछाडि उनको धेरै जना सल्लाहकार रहने हुनसक्छ ।’

यही महिनाको सुरुवातमा किम यो जोङलाई सत्तारुढ कोरियन वर्कस पार्टीको केन्द्रीय कमिटी पोलिटब्युरोको वैकल्पिक सदस्यको रुपमा पदोन्नती गरिएको थियो । गत वर्ष उनलाई कमिटीबाट हटाइएको थियो ।

किम जोङ उका दाई किम जोङ चोल पनि रहेका छन् । तर, उनलाई कोरियाली नेतृत्वले बेवास्ता गर्दै आएको छ । र, यो जोङ नै आफ्नो दाईसँग धेरै देखिने गरेकी छिन् ।

‘किम जोङ उन देशमा अपेक्षित परिवर्तनका लागि टड्कारो बनेका थिए । उनको निधनपछि भविष्यमा नयाँ अवसरहरु खुल्नेछन्,’ वार्ड भन्छन्, ‘तर, सँगैसँगै खतरा पनि त्यतिकै हुन्छ । विशेष गरेर सत्ता हस्तान्तरण कसरी हुन्छ भन्ने विषय जटिल छ ।’

शुन्य राजनीतिक स्वतन्त्रता

सत्तामा आएपछि किमले देशमा आफ्नो नियन्त्रण कायम गर्नका लागि लगातार मानवअधिकारको उल्लंघन गरिरहेका छन् । मृत्युदण्ड, राज्यद्वारा प्रोत्साहित यौनहिंसा, राजनीतिक जेल शिविरको प्रयोग यसका केही उदाहरण हुन् । यस्ता शिविरमा १ लाख २० हजार बन्दी रहेको बताइएको छ । वार्डका अनुसार मानवअधिकारको सन्दर्भमा उत्तर कोरिया सम्भवतः विश्वकै सबैभन्दा खराब राष्ट्र हो । ‘ती शिविरमा सबैभन्दा बढी मानवअधिकारको उल्लंघन भएको छ । त्यहाँ राजनीतिक स्वतन्त्रता नै छैन,’ उनले भने ।

सबैभन्दा आश्चर्यजनक विषय भनेको किममाथि उनकै दाईलाई सन् २०१७ मा क्वाललम्पुरको विमानस्थलमा रसायनिक हतियार प्रयोग गरेर हत्या गरेको आरोप छ । त्यस्तै, सन् २०१३ मा उनले आफ्नै काकालाई मृत्युदण्ड दिएको बताइन्छ ।

यसकाबावजुद किमले अन्तर्राष्ट्रिय कुटनीतिलाई कायम राखेका छन् । सन् २०१८ मा प्योङचाङ शीतकालिन ओलम्पिकमा आफ्नो टोली पठाएर सबैलाई आश्चर्यचकित बनाएका थिए । पछिल्लो समय किमले दक्षिण कोरियाली राष्ट्रपति मोन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विभिन्न चरणको वार्ता गरेर सम्बन्ध बढाएका थिए ।

किमको असली उद्देश्यबारे अझै बहस जारी छ र गत वर्ष हानोइमा भएको परमाणु वार्ता असफल भएपछि उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरेको थियो । किमको अकास्मत निधनले उत्तर कोरियाको सम्बन्ध विस्तारको प्रयास र कुटनीतिक प्रगतिमा ब्रेक लाग्न सक्छ ।

यता, विभिन्न प्रतिबन्धका कारण संघर्षरत अर्थतन्त्रका बीच किमको निधनले शीर्ष नेतृत्वलाई अत्तलाउन सक्छ । यदी केन्द्रीय नेतृत्व कमजोर भए राज्य नै धरासायी बन्ने र यसले उत्तर र दक्षिणबीच द्वन्द्व निम्ताउने र अन्य देशको हस्तक्षेप निम्ताउन सक्ने पनि खतरा रहेको छ ।

स्रोत ः अलजजिरा





error: Content is protected !!