किलो नुनको मुल्य ६० रुपैयाँ ?

जाजरकोट , यहाँको सदरमुकाम देखि झण्डै ७२ किलोमिटर उत्तरपुर्वमा रहेको बारेकोट गाउँपालिका अनुदानमा पाईने नुनको मुल्य थामिनसक्नु भएको पाईएको छ ।

भर्खरै गाउँपालिकाको मुकाम लिम्सा सम्मा सडक पुगेको छ । लक डाउनले गर्दा त्यहाँ सडक पुगेपनि यातायातका साधनहरु चल्न दिईएको छैन । यातायातको रुपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्बाद चलिरहेका छन् । कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड नगरपालिकाको कालीमटी हुँदै बारेकोट दुवै ठाउँबाट खच्चड निर्बाद रुपमा चलिरहेका छन् । अहिले त्यही खच्चडमा लिएर स्थानीय वजारमा पाईने खाद्यान्न देखि आयोडिन यूक्त नुनको मुल्य छोईनसक्नु भएको स्थानीयवासीहरु बताउँछन् ।

बारेकोट गाउँपालिकाले सदरमुकाम स्थित साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडकोे डिपोबाट २ सय क्वीन्टल भन्दा बढी नुन खरिदका लागि चिठी पठाएपनि मुस्किलले १ सय क्वीन्टल मात्र पाएको छ । स्थानीय सरकारले भनेजती नुन खरिद गर्न खोजेपनि साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड जाजरकोटले स्थानीय सरकारलाई माग अनुसारको नुन उपलव्ध गराएको छैन ।

यत्ता खच्चडमा नुन लिएर वजारमा लुकिछिपी विक्री गर्ने नुनको मुल्य बारेकोटमा प्रतिकेजी ६० रुपैयाँ रहेको पाईएको छ । सदरमुकाममा एक केजीको ९ रुपैयाँमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ । ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी ९ रुपैयाँमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरीद गरेर दुर्गममा चर्को मुल्यमा बिक्री गर्ने गरेका छन् ।

लकडाउनका कारण गाडी चल्दैनन् । प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्याक्टरमा र त्यसपछि घोडा खच्चडमा लगेको नुन व्यापारीले मनोमानी रुपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुक दर्शक बनिरहेको छ । दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयको गुनासो छ ।

बारेकोटमा व्यापारीले निजी लगानीमा खरीद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० रुपैयाँ र माथिल्लो भेगतिर ६० रुपैयाँमा बिक्री गर्ने गरिएको बारेकोट गाउँपालिकाले समेत स्वीकार गरेको छ । सदरमुकाममा ९ रुपैयाँ पोका पाइने नुन बारेकोटमा ६/७ गुणा बढी मुल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट ५ पाखाका प्रेम शही बताउनुभयो ।

नुनको समस्या बर्षेनी हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाई नभएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताउनुभयो ।

केही समय अघि छेडागाड नगरपालिकाको दशेरामा समेत चर्को मुल्यमा नुन विक्री गरेको फेला परेको थियो ।





error: Content is protected !!