महामारीले सम्झाएका चार संस्कार

कोभिड–१९ को विश्वव्यापी महामारीले मानिसलाई लकडाउन, सामाजिक दूरी, क्वारेन्टाइन, आइसोलेसनजस्ता शब्दहरूमा अभ्यस्थ गराएको छ । यी शब्द नयाँ लागे पनि नेपाली समाजमा परापूर्वकालदेखि नै संस्कारका रूपमा रहेको पाइन्छ, सामाजिक दूरीको प्रचलन । यी हुन् कोभिड–१९ ले सम्झाएका नेपाली समाजका चार मौलिकता ः

सत्तल अर्थात् सेल्फ आइसोलेसन

तत्कालीन नेपाल उपत्यकाका तीन राज्य र तिब्बतबीच प्राचीन कालदेखि नै व्यापार चलेको थियो । त्यसक्रममा उपत्यकामा बसोवास गर्ने नेवार समुदायका व्यापारी तिब्बतसम्म पैदल आउजाउ गर्थे । संस्कृतिविद् ओम धौभडेलका अनुसार तिब्बतबाट आइपुगेका व्यापारीहरू सत्तलमा ‘सेल्फ आइसोलेसन’मा बस्थे । विभिन्न देवस्थलनजिक बनाइएका पाटीलाई सत्तल भनिन्छ । यस्ता सत्तल उपत्यकाभर अद्यापि देख्न सकिन्छ ।

प्राचीन नगरराज्यका गेटबाट पस्नुअघि ढुंगेधारा या इनारमा हात, खुट्टा र मुख धुने चलन थियो । खेतबारीमा काम गरेर साँझ घर फर्किंदा पनि त्यसरी नै शरीर सफा गरिन्थ्यो ।

तिब्बत आउजाउ गर्ने व्यापारीहरू हैजालगायत महामारीको चपेटामा पर्थे । यहाँ आएर त्यस्ता रोगव्याधी परिवार र समाजमा नफैलिऊन् भनेर व्यापारीहरू दुई सातासम्म सत्तलमा बस्ने गरेको उल्लेख विभिन्न अभिलेखमा पाइने धौभडेल बताउँछन् ।

‘उपत्यकाबाट बसाइँ सरेर देशका विभिन्न ठाउँमा पुगेका नेवारीहरूबीच पनि यो प्रचलन पछिसम्म कायम रहेको पाइन्छ,’ धौभडेल भन्छन्, ‘सत्तलमा क्वारेन्टाइनको समय सकिएपछि नुहाइधुवाइ गरेर सगुनसहित घरमा भित्र्याउने चलन थियो ।’ गोसाइँकुण्डलगायत धार्मिकस्थलमा पुगेर फर्केका मानिसलाई पनि त्यसरी नै सत्तलमा ‘आइसोलेसन’मा राख्ने चलन रहेको उनको भनाइ छ ।

नगरमा पस्न नुवाइधुवाइ

संस्कृतिविद्हरूका अनुसार तत्कालीन नगरराज्य सुरु हुने बिन्दुमा भव्य गेट बनाइएका हुन्थे । र, ती गेटभन्दा बाहिर ढुंगेधारा या इनार हुन्थे । गेटबाट नगरभित्र पस्नुअघि ढुंगेधारा या इनारमा नुहाउने या हात, खुट्टा र मुख धुने चलन थियो । नगरबाहिर रहने खेतबारीमा काम गरेर साँझ घर फर्किंदा पनि त्यसरी नै शरीर सफा बनाउने चलन थियो । अहिले अस्पताललगायत सार्वजनिकस्थलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुने प्रचलनले त्यही प्राचीन संस्कारको झल्को दिएको धौभडेल बताउँछन् ।

सामाजिक दूरी

नित्य पूजापाठमा मात्र होइन, जन्म र मृत्यु संस्कारलगायत रीतिरिवाजमा नुवाइधुवाइ गरेर अरू मानिसभन्दा अलग्गै रहने चलन अद्यापि छ । अहिले महामारीबाट बच्न सामाजिक दूरी कायम गर्ने विषयले त्यही पुरातन संस्कार सम्झाएको संस्कृतिविद्हरू बताउँछन् । कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाइएको सामाजिक दूरीको नियमले त्यही नेपाली मौलिक संस्कृतिलाई बढावा दिएको डा। भोला रिजाल बताउँछन् ।

उनको भनाइमा अहिले सामाजिक दूरीले भावनात्मक दूरीलाई घटाइदिएको छ । ‘व्यस्त दैनिकीमा रहने व्यक्ति फुर्सदिलो भएको छ । अनि परिवार, आफन्त र समाजको चिन्ता गर्न थालेको छ,’ डा रिजाल भन्छन्, ‘सामाजिक सञ्जालले पनि भावनात्मक दूरी घटाउन मद्दत गरेका छन् ।’

अंकमाल भर्सेस नमस्कार

करिब महिनादिनदेखि मानिसले भेटघाटमा हात मिलाउन छाडेका छन् । त्यसको साटो नमस्कार गर्ने संस्कारको पुनरावृत्ति भएको छ । ‘हात मिलाउने र अंकमाल गर्ने हाम्रा मौलिक संस्कार होइनन्,’ धौभडेल भन्छन्, ‘नमस्कार गर्ने हाम्रो संस्कार यतिवेला विश्वव्यापी बनेको छ ।’

युरोपका कम्युनिस्ट नेतादेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले नमस्कारलाई अभिवादन साटासाट गर्ने माध्यम बनाएको देखिएको छ यतिवेला । ‘यो सामाजिक दूरीको उत्कृष्ट नमुना हो र वैज्ञानिक हिसाबबाट पनि प्रयोगात्मक मानिन्छ,’ डा। रिजाल भन्छन्, ‘आधुनिक जीवनशैलीसँगै मानिसले यसलाई रुढीवादी भनेर त्यागेका थिए ।’

नेपाली समाजमा सामाजिक दूरी नौलो विषय होइन । आपसमा दूरी राखेर बस्ने, खाना खाँदा एक–अर्कालाई नछुने, खोक्दा र हाच्छ्युँ गर्दा मजेत्रो र रुमालले मुख छोप्ने, ननुहाई भान्सामा नजाने, बाहिरबाट घर भित्रिँदा हातखुट्टा धोइपखाली गर्ने, रुघाखोकी लाग्दा या ज्वरो आउँदा अलग्गै बस्नेजस्ता चलन पुरानै हुन्, नेपाली समाजमा । ‘हात, नाक र मुख नै संक्रमण सार्ने माध्यम भएकाले परापूर्वकालदेखि नै नेपाली समाजमा सचेतना रहेको पाइन्छ,’ डा रिजाल भन्छन् ।





error: Content is protected !!