कर्णालीमा कहाँ कति फर्किए

विदेशबाट घर फर्किनेमा सबैभन्दा बढी सुर्खेतका १ हजार ५ सय ५१ जना छन्। तीमध्ये १ सय ४ जना भारतबाहेक मुलुकबाट भित्रिएका  छन् । लकडाउन सुरु भएपछि देशका विभिन्न ठाउँमा रहेका ९ सय ८५ जना पनि घर फर्किएका छन्।

विदेशबाट फर्कनेमा सबैभन्दा कम डोल्पामा १२ जना छन्। ती पनि भारतबाट दुई महिनाअघि नै काठमाडौंलगायत सहरी क्षेत्रमा आएर लकडाउनअघि जिल्लामा फर्किएकाहरू भएको डोल्पाका प्रजिअ सुरेश सुनारले बताए। दैलेखमा विदेशबाट फर्किनेको संख्या करिब १ हजार ५ सय, सल्यानमा ८ सय ८१, रुकुम पश्चिममा ५ सय ५१, कालीकोटमा ३ सय ३५, जुम्लामा २ सय ९१, जाजरकोटमा २ सय ८३ र मुगुमा २ सय ६७ जना छन्। यद्यपि स्थानीय तहहरूले संकलन गरेको यो तथ्यांकभन्दा धेरै व्यक्ति गाउँमा भित्रिएका प्रजिअहरूको आकलन छ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार दिउँसो १० वटै जिल्लाका प्रजिअसँग भिडियो कन्फरेन्समार्फत बैठक गर्दै स्थानीय तहको समन्वयमा जिल्लामा भित्रिएका मजदुर, विद्यार्थी लगायतलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिए। लकडाउन लम्बिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै खाद्यान्नको उचित प्रबन्ध गर्नुपर्ने उनको भनाइ थियो।

पीसीआर सुस्त

कर्णाली प्रदेश सरकारले चैत १ यता भारतबाट आएका सबैको थ्रोट स्वाबको नमुना (पीसीआर) परीक्षण गर्ने योजना बनाए पनि हालसम्म ९ सय २६ जनाको मात्र परीक्षण भएको छ। पहिलो चरणमा तेस्रो मुलुकबाट आएका र लक्षण देखिएका व्यक्तिको मात्र स्वाब परीक्षण गरिएको छ।

आरटी–पीसीआर मेसिनको क्षमता अभाव र थ्रोट स्वाब संकलनमा कठिनाइ भएकाले अपेक्षित रुपमा परीक्षण हुन नसकेको प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले बताइन्। ‘अहिले पनि मान्छे आउने क्रम जारी छ, संख्या बढ्न पनि सक्छ,’ उनले भनिन्, ‘हामीले सबैको पीसीआर गर्ने योजना बनाएका छौं।’ यसका लागि स्थानीय स्वास्थ्यकर्मीले वडा पालिकासँग समन्वय गरी तथ्यांक संकलन गरिरहेका उनले बताइन्।

संघीय सरकारले आरडीटी किट पर्याप्त नदिँदा परीक्षण प्रभावित भएको छ। निर्देशक भण्डारीले वडागत रूपमा संकलित तथ्यांक र अनुमानभन्दा धेरै व्यक्ति गाउँमा पुगेकाले किट अभाव भएको बताइन्। उनका अनुसार संघीय सरकारले दुईपटक गरेर ८ हजार किट पठाएको थियो। हालसम्म करिब ५ हजार जनाको आरडीटी भएको छ। बाँकी किट पनि स्वास्थ्यकर्मीले बोकेर गाउँतिर गएकाले रिपोर्ट आउने क्रम जारी रहेको उनले बताइन्। ‘हामीसँग स्टक कत्ति छैन,’ उनले भनिन्, ‘जिल्लाहरूमा भने प्लानिङअनुसार गरेर काम भइरहेकोले केही बचत हुन सक्छ।’

थपिए २ पीसीआर मेसिन

कम क्षमताको कारण स्वाब परीक्षण गर्न बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न कर्णालीमा थप दुईवटा मेसिन खरिद गरिएका छन्। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारले मेसिन खरिद गरेका मेसिन बिहीबार जहाजबाट सुर्खेत ल्याइएका छन्।

प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयसँग रहेको नयाँ मेसिन र प्रतिष्ठानले चीनबाट मेसिन खरिद गरेको हो। प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारसँग थप अर्को एक मेसिनसमेत माग गरिएको बताए। ल्याइएका मेसिनले एकपटकमा ९६ वटाको दरले नमुना प्रोसेसिङ गर्न सक्छन्। संघीय सरकारले चैत तेस्रो साता पठाएको हालको मेसिनले भने एकपटकमा एउटामात्र प्रोसेसिङ गर्न सक्छ। त्यही कारण कर्णालीमा संकलित स्वाबका नमुना काठमाडौं र धनगढी पठाउने गरिएको छ।

पीसीआर र आरडीटीका लागि आवश्यक उपकरण आएपछि कर्णाली प्रदेश सरकारले ‘मेडिकल मार्च’ सुरु गर्ने तयारी गरेको छ। सामाजिक विकासमन्त्री रावलले चिकित्सक र स्वास्थ्यकर्मीको संयुक्त टोली प्रत्येक स्थानीय तहमा पठाइने बताए। उक्त टोलीले कोरोनाविरुद्ध सचेतीकरण र आरडीटी गर्नुका साथै पीसीआरको लागि सम्भावित व्यक्तिको स्वाब संकलन गर्नेछ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले ‘मेडिकल मार्च’ का लागि ३५ जना चिकित्सकको टोली तयारी अवस्थामा रहेको बताए। मन्त्रालयले साविक कर्णाली अञ्चलका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा प्रतिष्ठानको टोली मार्चमा हिँड्ने बताए। ‘प्रदेश सरकारले सुरु गर्न लागेको मेडिकल मार्चले कर्णालीमा कोरोनाको जोखिम र अवस्था थाहा हुनेछ,’ उनले भने, ‘आरटी–पीसीआर मेसिन आएपछि त झन् सहज हुनेछ।’





error: Content is protected !!